पूर्वी रुकुमको प्राकृतिक सौन्दर्य, मौलिक भूगोल र स्थानीय परिवेशलाई पृष्ठभूमि बनाएर तयार पारिएको म्युजिकल फिल्म ‘पिर मनैमा’ सार्वजनिक भएको छ। प्रेम, वियोग र पीडाको भावलाई फरक शैलीमा प्रस्तुत गरिएको यस म्युजिकल फिल्मलाई सामान्य गीतको भिडियोभन्दा पृथक ढंगले निर्माण गरिएको छ।

बिग नेपाली फिल्म्स प्रोडक्सनको प्रस्तुतिमा बनेको ‘पिर मनैमा’को छायांकन पूर्वी रुकुमका पाँचभन्दा बढी गाउँमा करिब सात दिन लगाएर गरिएको निर्माण पक्षले जनाएको छ। रुकुमका डाँडाकाँडा, गाउँबस्ती तथा प्राकृतिक परिवेशलाई कथाको भावसँग जोडेर प्रस्तुत गरिएको छ। वास्तविक लोकेसनमा खिचिएका दृश्यहरूले म्युजिकल फिल्मलाई थप जीवन्त बनाएको छ।

गीतमा चर्चित गायिका शान्ति श्री परियार र रबिन भुसालको स्वर रहेको छ। गीतका शब्द तथा संगीत पनि रबिन भुसालकै रहेको छ। म्युजिकल फिल्ममा बिशाल नेपाली र गीता ढुंगानासँगै अन्य कलाकारहरूको अभिनय देख्न सकिन्छ।

म्युजिकल फिल्मको निर्देशन बिशाल नेपालीले गरेका हुन्। प्रेम, वियोग र पीडाको कथालाई दृश्यमार्फत प्रस्तुत गरिएको फिल्मले प्रेम केवल जीवनसँग जोडिएको भावना मात्र नभई मृत्युले समेत सजिलै चिर्न नसक्ने गहिरो सम्बन्ध हुनसक्ने भावलाई उजागर गरेको छ।

पूर्वी रुकुमको वास्तविक परिवेशमा लामो समय लगाएर छायांकन गरिएका दृश्यहरू ‘पिर मनैमा’को मुख्य आकर्षण बनेका छन्। प्राकृतिक सौन्दर्यसँगै मानवीय संवेदना र प्रेमको पीडालाई केन्द्रमा राखिएको म्युजिकल फिल्मले दर्शकलाई फरक अनुभूति दिने निर्माण पक्षको विश्वास छ।

For More videos Log on to Mazzako TV