काठमाडौं । बेलायतमा नेपाली संगीतप्रेमीलाई लक्षित गर्दै आगामी अक्टोबर ९ तारिख ‘सुम्निमा साँझ’ विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । एल्डसर्टस्थित एम्पायर हलमा हुने कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका चर्चित कलाकारहरूले विशेष प्रस्तुति दिने आयोजकले जनाएको छ ।


सुम्निमा इभेन्ट, लुङ्टो क्रिएसन, ईफ्लेक्स इन्टरटेनमेन्ट र इनाश यूकेको संयुक्त आयोजनामा हुन लागेको ‘सुम्निमा साँझ’ विशेष सांगीतिक कार्यक्रममा कलाकारहरुको भिड नै रहेको छ । कर्याक्रममा चर्चित गायिका मेलिना राई र भ्वाईस अफ नेपाल सिजन ६ का उपविजेता गायक रोशन राई, चर्चित गायक प्रताप दास, चर्चित गायिका पार्वती राई, सबिना योङहाङ, जानुका राई, अप्सरा घिमिरे, चर्चित अभिनेत्री रजनी गुरुङ लगायत कलाकारहरूको प्रस्तुति रहनेछ ।
विशेषगरी कोच र कन्टेस्टेन्टका रूपमा चर्चित मेलिना राई र रोशन राई एउटै मञ्चमा प्रस्तुत हुने भएकाले कार्यक्रम थप आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ । कार्यक्रमलाई सुशील नेपालले सञ्चालन गर्नेछन् भने नेपालबाट कलाकारहरूको समन्वय ईफ्लेक्स इन्टरटेनमेन्टका प्रोप्राइटर अजेश पौडेलले गरिरहेका छन् । बेलायतमा रहेर सफल व्यवसाय गर्दै आएका सचिन बुढाथोकी र रमेश श्रेष्ठ समेत आयोजक हुन् ।
यस सांगीतिक कार्यक्रमलाई मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको छ । आयोजकहरूले कार्यक्रमबाट प्राप्त आम्दानीको ५ प्रतिशत रकम भोटेकोशी, रसुवा बाढीपीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाली संगीत, कला र संस्कृतिलाई बेलायतमा प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको ‘सुम्निमा साँझ’ले बेलायतमा रहेका नेपाली दर्शक–श्रोतामाझ विशेष सांगीतिक माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

For More videos Log on to Mazzako TV