नेपाली वेब सिरिज ‘तथास्तु’ सार्वजनिक
नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ स्वाद र मौलिक कथावस्तुसहित वेब सिरिज ‘तथास्तु’ सार्वजनिक भएको छ। के.बी डिजिटल युट्युब च्यानल मार्फत उक्त सिरिजको ट्रेलर र पहिलो एपिसोड सार्वजनिक गरिएको छ । गाउँले परिवेश, युवापुस्ताको उटपट्याङ व्यवहार, रहस्यमय साधु र एउटा अनौठो श्रापको वरिपरि घुम्ने यस सिरिजले दर्शकलाई मनोरञ्जनसँगै जीवन, परिवार, मित्रता र समयको महत्त्वबारे सोच्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

ओरियन पिक्चर्स र फजी फिल्म्सको संयुक्त निर्माणमा तयार भएको यस सिरिजको कथा तथा पटकथा शिशिर राणाले लेखेका हुन् भने निर्देशन किरण दाहालले गरेका छन्। सिरिजको निर्माण पक्षले हास्य र भावनात्मक पक्षलाई संयोजन गर्दै नेपाली गाउँघरको परिवेशमा आधारित रोचक कथा दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्य लिएको छ। यस वेब सिरिजमा युवा तथा अनुभवी कलाकारहरूको आकर्षक संयोजन देख्न पाइनेछ। मुख्य कलाकारहरूमा अभिषेक फुयाँल, रसल श्रेष्ठ, सुनील तामाङ, तुलसी राय, सबी थापा, लिसा बरनवाल, सृजना भुजेल र गीत लिम्बू रहेका छन्।
त्यसै गरी, वरिष्ठ कलाकारहरू नरेन्द्र थापा, श्याम राई, बिपना बस्नेत, सन्तु तामाङ, रामकाजी घिमिरे र गीता थापा को अभिनयले सिरिजलाई थप बलियो बनाएको छ । सिरिजको निर्देशन किरण दाहालले गरेका छन् भने कथाको परिकल्पनादेखि पर्दामा प्रस्तुतिसम्म विभिन्न विधामा अनुभवी तथा सृजनशील टोली संलग्न रहेको छ। सिरिजमा किरण दाहाल, विवेक मगर र मणि राज पौडेल निर्माता रहेका छन्। बी एन्ड बी टेक तथा हाकिम इन्टरटेनमेन्ट सह–निर्माताका रूपमा आबद्ध छन्।
सिरिजको प्राविधिक टोलीमा प्रोडक्सन डिजाइनर तथा प्रोडक्सन हेडका रूपमा मणि राज पौडेल रहेका छन्। छायाङ्कनको जिम्मेवारी विवेक मगर र योदिन योञ्जनले सम्हालेका छन्। प्रमुख सहायक निर्देशकमा निश्चल तामाङ तथा सहायक निर्देशकमा सुमन सार्की र सृजना भुजेल रहेका छन्। सम्पादन विवेक मगर र आलोक वाग्लेले गर्नेछन् भने प्रोडक्सन म्यानेजरको जिम्मेवारी निश्चल श्रेष्ठले सम्हालेका छन्। ‘तथास्तु’ वेब सिरिजको शीर्ष गीत हर्क साउदले तयार गरेका हुन् l सिरिजको ब्याकग्राउन्ड स्कोर अनमोल थापाले तयार पारेका हुन् । मनोरञ्जनका साथै जीवनप्रतिको दृष्टिकोण र सम्बन्धको महत्त्वलाई उजागर गर्ने ‘तथास्तु’ दर्शकका लागि हाँसो, भावना र आत्मबोधको संयोजन बन्ने विश्वास निर्माण टोलीले लिएको छ।








