नेपाली लघु चलचित्र ‘समृद्धिको बाटो’ (Path to Prosperity) १५औँ युरोपेली संघ फिल्म महोत्सव नेपाल २०२६ मा छनोट भएको छ। विक्रम खनालको निर्देशनमा बनेको १२ मिनेट लामो यस चलचित्रमा अभिनेता आशिष श्रेष्ठ मुख्य भूमिकामा देखिएका छन्। आगामी नोभेम्बर २१ र २२ मा काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा आयोजना हुने महोत्सवमा ‘समृद्धिको बाटो’ नोभेम्बर २१ तारिख दिउँसो १२ः१५ बजे अडिटोरियम १ मा प्रदर्शन हुनेछ।

रोजगारी र उज्ज्वल भविष्यको खोजीमा विदेशिने एक नेपाली युवाको संघर्षपूर्ण यात्रालाई फिल्मले मुख्य विषय बनाएको छ। वैदेशिक रोजगारीको क्रममा मानव तस्करहरूको जालो, प्रतिकूल परिस्थिति र अनेक चुनौतीको सामना गर्नुपरे पनि आफ्नो सपना र आशा जीवित राख्ने युवाको कथा यसमा प्रस्तुत गरिएको छ।

‘A Desperate Odyssey of Dreams’ ट्यागलाइन राखिएको चलचित्रमा आशिष श्रेष्ठसँगै युवराज तिमल्सिना, ड्यानी श्रेष्ठ, गेर्निको ‘निक’ कल्मर, मञ्जु गिरी र सरिता नेपालीको अभिनय रहेको छ।

रंगमञ्च तथा चलचित्र क्षेत्रमा सक्रिय आशिषका लागि यो छनोट महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। फरक विषयवस्तु र चुनौतीपूर्ण चरित्रमार्फत उनले फिल्ममा आफ्नो अभिनय क्षमता प्रस्तुत गरेका छन्।

१२ मिनेटको छोटो प्रस्तुतिमार्फत वैदेशिक रोजगारी, मानवीय संवेदना, सपना, संघर्ष र मानव तस्करीजस्ता गम्भीर सामाजिक विषय उठान गरिएको यस चलचित्रको महोत्सव प्रदर्शनले नेपाली सिर्जनालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

For More videos Log on to Mazzako TV