नेपालमै पहिलोपटक खाना पकाउने कलासम्बन्धी प्रतिस्पर्धात्मक रियालिटी शो ‘सेफ नेपाल’ आगामी मङ्सिरबाट सुरु हुने भएको छ ।हिमालय टेलिभिजनमा प्रशारण हुने प्रतिस्पर्धाका विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउने सेफ नेपालका निर्माता धर्मराज पाण्डेले जानकारी दिए ।

रियालिटी शोको प्रारम्भिक उद्घोष गत वैशाखमै गरिएको थियो । ‘त्यसपछि हामीले आन्तरिक तयारी एवं बजार प्रबर्द्धन गर्नुका साथै प्रतियोगीहरूको आवेदन लियौँ’, पाण्डेले भने ।

उनका अनुसार दुई सयभन्दा बढी आवेदन अनलाइनमार्फत परेकोमा ८० जना छनोट भएका छन् । ‘सेफ नेपाल अन्तर्राष्ट्रियस्तरको खाना पकाउने कलासम्बन्धी शो हो’, निर्माता पाण्डेले भने, ‘सञ्जीव कपुरको खाना खजानालगायतको भारतीय टीभी शोहरू, बीबीसीको मास्टरसेफ, गर्डन राम्सेको हेल्स किचनजस्ता विदेशी कुकिङ शो हेर्दै आएका खानाका पारखीहरूले अब नेपालको आफ्नै आफ्नै कार्यक्रमबाट आनन्द प्राप्त गर्नेछन् ।’

यो शोले नेपाली खाना संस्कृति र सन्तुलनलाई विश्वसामु प्रतिनिधित्व गर्ने उनले बताए ।

शोको निर्णायकमा सेफ गणेश ढकाल, भान्से लक्ष्मण भण्डारी छन् । अभिनेत्री प्रियङ्का कार्की शो की कार्यकारी निर्माता एवं सेलिब्रेटी जज छिन् । शोको निर्माण डाइरेक्टर सिमोश सुनुवार हुन् । सेफ नेपालको सेट भक्तपुरको ठिमीस्थित रोयल थाइ हस्पिटालिटीभित्र छ ।

सञ्चालकका अनुसार कार्यक्रमका लागि अनलाइन अडिसनमार्फत प्राप्त भएका आवेदनमध्ये ८० जना छानेर ‘सेफ नेपाल’को युट्युब च्यानलमा प्रशारण गरिएको थियो ।

अनलाइन अडिसन बन्द भइसके पनि समयमै थाहा पाउन नसकेका, आवेदन दिन छुटेका, खाना पकाउन आतुर जोकोहीलाई आवेदन दिन १ हप्ता थप गरिएको सेफ नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर, प्रोफेसनल सेफले भने आवेदन दिन पाउने छैनन् ।

For More videos Log on to Mazzako TV