‘मिस्टर नेपाल २०२२’ को छनौट सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले गत शनिबारबाट प्रतियोगी छनौटको प्रारम्भिक अडिसन सुरु गरेको हो । अडिसन १२ चैत्रसम्म चल्ने आयोजकले जनाएको छ ।अहिलेसम्म प्रतियोगीतामा एकसय बढीले अडिसन दिएका छन् । ति मध्यबाट केही प्रतियोगी छानिएका छन् । अडिसनबाट छानिएका सबै प्रतियोगी १२ गतेको अन्तिम अडिसनपछि सार्वजनिक गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।


‘मिष्टर नेपाल’ पुरुषहरु सहभागी हुने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस बर्षबाट चिरपरिचित आयोजक नेक्स्ट मोडल्स नेपालले गर्ने भएको हो । १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले प्रतियोगिताका लागि चैत्र १२ गतेसम्म सहभागीता जनाउन सक्नेछन् । विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इन्च माथि उचाई भएका नेपाली नागरिकले मात्र प्रतियोगीतामा सहभागिता जनाउन सक्ने प्रावधान आयोजकको रहेको छ ।


बिभिन्न जिल्लामा समेत अडिसन आयोजना भइरहेको प्रतियोगीतामा यो बर्षबाट स्थानिय सौन्दर्य प्रतियोगिताका विजेताले समेत सहभागी अवसर प्राप्त गरेका छन् । ‘मिष्टर वल्र्ड’ मा नेपालको सहभागिता अझ दर्बिलो बनाउन र प्रतियोगितालाई थप उचाई दिने उद्देश्यका साथ आफुलेले प्रतियोगीताको फम्र्याट बनाएको धमलाले बताए ।


‘प्रतियोगिता विगतको भन्दा अझ भव्य बनाउन आफु लागिपरेको छु’ धमलाले थपे ‘यो वर्ष मिस्टर नेपाल’ नेपालमा आयोजना हुने सबै सौन्दर्य प्रतियोगिता भन्दा भव्य हुनेछ ।’ प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ मा सहभागिताको अवसरको अलवा ५ लाख नगदसहित बिभिन्न ब्राण्डको ब्राण्ड एम्बेसर, फेस अफ ब्राण्ड, बिज्ञापन, म्युजिक भिडियो र फिल्म अभिनय अवसर प्राप्त गर्नेछन् ।

देशैभरि छरिएर रहेका प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइने नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, रोजिन शाक्यलगायतले प्रशिक्षण दिने कार्यक्रमको कोरियोग्रफर प्रशान्त ताम्राकार रहेका छन् ।प्रतियोगीताको छनौट चरणको अडिसनको निर्णायकमा प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, रोजिन शाक्य, रवि धमला,र मिष्टर नेपाल विजेता डा. सन्तोष उपाध्याय रहेका छन् ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको प्रतियोगीताको अन्तिम स्पर्धा आगामि बैशाखको दोस्रो साता हुनेछ ।

For More videos Log on to Mazzako TV