८० दिनपछि ‘दुई नम्बरी’ नायिका उगेन फर्किन् भुटान

फिल्म ‘दुई नम्बरी’ मा अभिनय गरेकी भुटानी अभिनेत्री उगेन छोदेन चार्टर्ड फ्लाइट मार्फत भुटान फर्किएकी छिन् । ८० दिनअघि काठमाडौं आएकी उगेन थिम्पु फर्किएकी हुन् ।

उगेनलाई लिन शनिवार बिहान भुटानबाट त्यहाँको सरकारी विमानसेवा डुक एयरको एटिआर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थियो । काठमाडौंबाट बिहान ९ बजे विमान भुटानको पारो विमानस्थल फर्केको थियो । अब पारोस्थित ओलाथाङ होटेलमा उगेन २१ दिन लामो क्वारनटाइनमा बस्ने छिन् । त्यसपछि उनको घर थिम्पु जानेछिन् ।
दीपेन्द्र लामा निर्देशित र किरण नेपाली निर्मीत फिल्म ’२ नम्बरी’को गत चैत ८ गतेसम्म कास्कीको घाचोकमा छायांकन भएको थियो । लकडाउन खुलेर स्थिति सामान्य भएपछि फिल्मको छायांकन अघि बढ्नेछ । फिल्ममा उगेनको अपोजिटमा अभिनेता दयाहाङ राई छन् ।








