अस्तव्यस्त सिनेमा क्षेत्र
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाली सिनेमा क्षेत्र अस्तव्यस्त बनेको छ । सिनेमा क्षेत्र अस्तव्यस्त बन्दा अब भोलीको दिनमा यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने अन्यौल पनि छ । हलहरु बन्द भएका त छैनन्, तर दर्शकको संख्या न्यून छ ।

भीडभाडमा नजान सरकारले आग्रह गरेसँगै दर्शकहरु हलसम्म जान पनि कम भएको छ । नयाँ नेपाली सिनेमाको रिलिज रोकिएको छ । म यस्तो गीत गाउँछु २, निरफूल, लक्का जवान जस्ता सिनेमाको प्रदर्शन मिति रोकिएको छ । चैत्र २८ गतेलाई रिलिज मिति तोकिएका प्रेमगीत ३ र चपली हाइट ३ को प्रचार पनि अगाडि बढ्न सकेको छैन ।
सिनेमाको छायांकन पनि प्रभावित भएका छन् । छायांकनमा जानका लागि तयार भएका अधिकांश निर्माता पछि हटेका छन् । औलामा गन्न सकिने केही सिनेमाको मात्र छायांकन भैरहेको छ । आउँदो बर्ष सिनेमा रिलिजमा भिडन्त हुने देखिएको छ ।








