बिपिनको ‘सेल्फी किङ’ : यस्तो देखियो पोस्टरमा
अभिनेता बिपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ’ को फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । विशाल सापकोटाको डेब्यू निर्देशन रहेको फिल्म माघ २४ गतेलाई प्रदर्शन मिति तय गरिएको हो । सार्वजनिक पोस्टरमा विपिन भिन्न लुक्समा प्रस्तुत छन् । आँखामा गाजल र ओठमा रातो रंगको लिपिस्टिक लगाएका छन् ।

फिल्ममा विपिनले गोपाल दाहाल अर्थात् हाँस्यकलाकारको भूमिका निर्वाहा गरेका छन् । एक चर्चित टेलिभिजन हाँस्यकलाकारको सफलता र व्यक्तिगत जीवनको कथा वाचन फिल्मले वाचन गर्छ । ‘सेल्फी किङ’ मा विपिनसंगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराईलगायतकोे अभिनय छ । भने, अभिनेत्री केकी अधिकारी गेस्ट रोलमा छिन् ।
सफल फिल्म ‘प्रसाद’ का निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले ‘सेल्फी किङ’ निर्माण गरेका हुन् । फिल्ममा विशालकै लेखन, सुशन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत र निर्मल लामाको कोरियोग्राफी छ । फिल्मका सह(निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।








