दिउँसोबाट ‘क्याप्टेन’ ले लियो पिकप, यस्तो छ ओपनिङ
युवास्टार अनमोल केसी अभिनित प्रतिक्षित फिल्म ‘क्याप्टेन’ आजबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आएको छ । फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् भने भुवन केसीले निर्माण गरेका हुन् । फिल्ममा अनमोल एक फुटबलरको भुमिकामा प्रस्तुत भएका छन् ।
पछिल्लो समय फिल्मले ब्यापार नगरिरहेको अबस्थामा यो फिल्मले दर्शकलाई हलसम्म ल्याउनेमा फिल्मकर्मीले आशा गरेका छन् । सिंगल थिएटर र मल्टिप्लेक्स सबैतिर लागेको यो फिल्मको शुक्रवार बिहानदेखि साँझसम्म ७० प्रतिशतको आसपास ओपनिङ अकुपेन्सी रहेको वितरक मनोज राठीको भनाई छ । फिल्मलाई ’छक्का पञ्जा ३’ पछिकै ठूलो ओपनिङ मिलेको उनले दाबी गरे ।

’राजधानीका गोपी, अष्ट, गुण, गंगा आदी हलमा शुक्रवार बिहानैदेखि हाउसफुल छन् । बिहान मल्टिप्लेक्समा भने दर्शकको उपस्थिति कम भएकै हो । तर, दिउँसो २ बजेपछि भने सबै सोज लगभग हाउसफुल भएको राठीको भनाई छ । दर्शकहरुको प्रतिक्रिया राम्रो भएका कारण फिल्मले शनिबार देशभर आक्रामक व्यापार गर्नेमा उनी विश्वस्त छन् ।
’क्याप्टेन’ ले दिउँसोबाट पिकअप लिएको बुझिएको छ । बेलुकाको शोहरुमा मल्टिप्लेक्सहरुमा टिकट लिने दर्शकको भीड बढेको थियो । टिनेज दर्शकले फिल्मलाई दमदार भने । यता अन्य दर्शकबाट भने मिश्रित प्रतिक्रिया आइरहेको छ । डबिङमा केही त्रुटी रहेको फिल्मका कलाकारको काम भने मज्जाकै छ । यसपटक दर्शकले अनमोलकोे अभिनयलाई समेत तारिफ गरे । यस्तै, नव–अभिनेत्री उपासना सिंह ठकुरीले यस फिल्मबाट राम्रो सम्भावना देखाएकी छन् ।








