खानेपानी मन्त्रालयले महिलाहरु महिनावारी हुँदा भोग्नु परेको समस्या सम्बन्धी जनचेतना जगाउने उद्देश्यले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ । मन्त्रालय र आयंका फाउन्डेसनका तर्फबाट प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठबीच भएको सहमति अनुसार उहाँहरुलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गरिएको हो ।

खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गरिएको पत्र दुवै जनालाई हस्तान्तरण गर्नुभएको थियो । महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न मन्त्रालय र फाउन्डेशनले यो अभियान सुरु गरेको हो ।  मन्त्री मगरले महिलाहरुले महिनावारी हुँदा भोग्नुपरेका समस्याका विषयमा जनचेतना जागृत गराउन कलाकारहरुको भूमिका अति महत्वपूर्ण हुने भएकाले अभियानमा लाग्न दुवै जनालाई शुभकामना दिनुभयो ।

उहाँले महिनावारी हुँदा महिलाहरुले झेल्नुपरेका समस्याका विषयमा सबै जनाले सकारात्मक सोच राख्नुपर्ने बताउनुभयो ।मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले महिलाहरुलाई महिनावारी सम्बन्धी जनचेतना जगाउने विषयमा आयंका फाउन्डेसनले महत्वपूर्ण भूमिका खेल्नेमा मन्त्रालय आशावादी रहेको बताउनुभयो ।

मन्त्रालयका तर्फबाट यो अभियान सफल बनाउन कुनै कसर बाँकी नराख्ने सचिव शर्माको भनाई छ । कलाकार तथा अभिनेत्री प्रियंका र आयुष्मानको जोडीले महिलाहरुलाई महिनावारी सम्बन्धी जनचेतना जगाउन ठाउँ ठाउँमा खटेर आफैं लागि पर्ने प्रतिबद्धता जनाएको छ । पहिलो चरणमा उनीहरुले धनुषा जिल्लाबाट यो अभियानको सुरुवात गर्ने घोषणा गरेका छन् ।

उनीहरुले ६ वटा महिला मैत्री शौचालय बनाउने र किशोरीहरुलाई स्यानिटेशन प्याड समेत प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।   

For More videos Log on to Mazzako TV