‘गुनगुन’को क्षतिपूर्तिको मागपछी अष्टनारायणको यस्तो जवाफ
सञ्चिता लुइटेल अभिनित फिल्म ‘गुनगुन’ हलमा लागेको भोलिपल्टै हलबाट उतारपछि फिल्मको टिम र अष्टनारायण हलबीच विवाद बढेको छ। शनिवार अष्टनारायण हलले ‘गुनगुन’ प्रदर्शनबाट हटाएको दावी गर्दै निर्माण टिमले नेपाल चलचित्र निर्माता संघलाई निवेदन गर्यो । साथै निर्माण टिमले प्रदर्शनबाट फिल्म हटाउँदा फिल्मलाई परेको असरको क्षतिपुर्तिको माग पनि गरेको छ।
आरोपको खण्डन गर्दै यता अष्टनारायण हलका म्यानेजर एवं अभिनेता सोहित मानन्धरले दर्शक अकुपेन्सी कम भएपछि फिल्म उतारेको बताए। फिल्म प्रदर्शनको दिन बिहानीको सो दर्शक नभएर बन्द भएको अष्टनारयण हलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा लेखिए अनुसार हलमा सम्झौता गरिए अनुसार नै निकै कम दर्शक भएपछि फिल्म हटाएको बताइएको छ। ‘हामी सबैलाई सहयोग होस् भनेर फिल्म हलमा लगाउँछौं। तर हामीलाई नै यस्तो हुन्छ। फिल्मको दर्शक नै भएन त्यसैले फिल्म निकाल्यौं,’ मानन्धरले भने ‘अर्को फिल्म ‘अनुग्रह’ र ‘दैलो’ भन्ने फिल्म पनि निकाल्यौं। तिनीहरुबाट गुनासो आएको छैन।’
चलचित्र ‘गुनगुन’ मा सञ्चिता लुइटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ लगायतको अभिनय छ। यस चलचित्रमा पुकार भट्टराईको निर्माण तथा निर्देशन रहेको छ ।