विपिन र वर्षाको ‘गोपी’ माघ १८ मा आउँने
दीपेन्द्र लामा निर्देशित फिल्म ‘गोपी’ अब माघ १८ मै रिलिज हुने पक्का भएको छ । यसअघि चैत १५ गतेलाई प्रदर्शन मिति तय भएको थियो । फिल्म गोपीमा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ ।

फिल्मको पोस्ट प्रोडक्सन पनि चाँडै सकिएको र देशविदेशका दर्शकले फिल्म अलि छिट्टै रिलिज गर्न आग्रह गरेपछि माघ १८ मा आउन लागेको निर्देशक दीपेन्द्र लामाले जनकारी दिए । लामाको यो फिल्म दोस्रो फिल्म हो । यसअघि उनले फिल्म घामपानी निर्देशन गरेका थिए, जसले मज्जाको प्रतिक्रिया पाएको थियो । फ्लोरमा नजाँदै यो फिल्मबाट अभिनेता खगेन्द्र लामिछाने र बर्षा सिवाकोटीले हात झिकेका हुन् ।

खगेन्द्रको ठाउँ अभिनेता विपिन कार्कीले लिएका छन् भने बर्षालाई अभिनेत्री बर्षा राउतले रिप्लेस गरेकी हुन् ।आरोही केसी निर्माता रहेको फिल्ममा सञ्चारकर्मी श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्मले एमए पढेर पनि गाईपालनमा होमिएका एक युवकको संघर्षको कथा बोल्छ । फिल्मको पटकथा लेखक सामिप्यराज तिमल्सिना अवगत गराउँछन् ।

काठमाडौंको टोखा क्षेत्रमा छायांकन गरिएको गोपीमा शैलेन्द्र ध्वज कार्कीको सिनेमाटोग्राफी, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत तथा विप्लव प्रतीक र बुद्धिसागरको गीत समावेश छ ।
For More videos Log on to Mazzako TV








