‘समर लभ’ को फस्ट लुक रिलिज, फिल्म माघ २५ मा

सुबिन भट्टाईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित फिल्म ‘समर लभ’ ले फस्ट लुक सार्वजनिक गर्दै रिलिज डेट तय गरेको छ । मुस्कान ढकाल निर्देशित फिल्मले माघ २५ लाई रिलिज डेट तय गरेको हो । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री प्रस्तुत छन् ।

फिल्मबाट आशिष र रेवतीले डेब्यु गर्दैछन् । फिल्ममा आउनु अघि आशिषको पृष्ठभूमि मोडलिङ हो भने रेवती भारतको तर्फबाट मिस इन्टरनेसनल विजेता हुन् । निर्देशक ढकालले विदेशको सुटिङ र फिल्ममाथिको अपेक्षालाई पूरा गर्ने गरी तयार गरिरहँदा समय लागेको बताए । किताबको हाइप पूरा गर्न पनि फिल्ममा धेरै मेहनत गर्नुपरेको उनले बताए ।

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । पुष्पन प्रधानको संगीत सञ्जय लामाको छायांकन रहेको फिल्म अर्जुन जिसीले सम्पादन गरेका हुन् ।









