हतारमा सिक्वेलको घोषणा, तर बन्ने कहिले कहिले ?
फिल्मको सिक्वेलको घोषणा २ प्रकारले गरिन्छ । एउटा फिल्म हिट भएपछि, अर्को नराम्रोसँग फ्लप भएपछि । मुखौटा फिल्म हलमा पानी माग्न नसक्ने अवस्था आएपछि यसका निर्माताले त्यसको केही दिनमै मुखौटा २ बन्ने भनेर प्रेस विज्ञप्ती नै निकालेका थिए । तर, मुखौटा २ बन्छ भन्ने कुरा अब एकादेशको कथा जस्तै भएको छ ।

फिल्म फ्लप भएको पीडा र बजारको चर्चालाई अर्कैतिर मोड्न निर्देशक यस्तो काम गर्छन् । मुखौटा जस्तै निर्मात्री र अभिनेत्री ऋचा शर्माले पनि सुनकेशरी फिल्म चल्दा चल्दै सुनकेशरी २ बनाउने भन्ने बताइन् । सुनकेशरी हल्ला गरेअनुसारको चलेन । यसले नेपालबाट आधा लगानी पनि उठाएन ।

यसैले, ऋचाले नचलेको कुरालाई अर्कैतिर मोड्न २ बनाउने हल्ला फिजाएकी थिइन् । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म कोहलपुर एक्सप्रेस रिलिज नहुँदै यसका निर्माताले निर्देशक विशाल भण्डारीलाई कोहलपुर एक्सप्रेस २ उपहार दिएको खबर आयो ।

तर, कोहलपुर एक्सप्रेस २ बन्ने कुरामा पनि शंका व्यक्त गर्न सकिन्छ । नेपालमा हिट हुँदा मात्र होइन, फिल्म असफल हुँदा पनि सिक्वेल बनाउने हल्ला फिजाउन निर्माताहरु माहिर छन् ।
For More videos Log on to Mazzako TV








