नायिका, निर्मात्री तथा निर्देशक रेखा थापाको फिल्म ‘मालिका’ को छायाँकन जाजरकोटमा धमाधम भैरहेको छ । केही दिन देखि जाजरकोट दरबारको प्राङ्गणमा गीतको छायाँकन भैरहेको रेखाले जानकारी दिएकी हुन् ।


अबको दुई दिनमा गीतको छायाँकन सकिने छ । काठमाण्डौबाट छायाँकन सुरु गरेर रेखा कोहलपुर हुँदै जाजरकोट सम्म पुगेकी हुन् । अबको दश दिनमा फिल्मको सम्पूर्ण छायाँकन सकिने रेखाले बताइन् । रेखाका अनुसार, चालिस दिनको तालिका बनाएको सेड्युल दशदिन अगाडी नै सकिने भयो । काम सोचे भन्दा पनि राम्रो भैरहेको छ, रेखाको बताइन् ।

जाजरकोट दरबारमा छायाँकन गरिएको गीतको बारेमा रेखा थप्छिन्, जिल्लाको स्थानीय भेष–भुषार संस्कृति झल्किने मेलाको दृश्य बनाएर दुई सय ६८ वर्ष अघि निर्माण गरिएको जाजरकोट दरबारको प्राङ्गणमा ‘मालिका’ को गीत छायांकन गरिएको हो । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा एक सय बढी त कोरस मात्रै रहेको रेखा बताउँछिन् ।


सुरेश अधिकारीको संगीत रहेको लोक लयको गीतले दर्शकको मन जित्नेमा रेखा ढुक्कछिन् । दर्शकको रोजाइकै गीत छ, रेखाको विश्वास छ, भिडियोमा पनि हामीले मिहेनत गरेकाछौं । जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरवहादुर कार्कीको परिकल्पनामा तयार भएको ‘मालिका’ फिल्मको विषयवस्तु महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित छ ।

मालिकामा रेखा र जाजरकोटकी चौध वर्षिय कमला ओली मुख्य भूमिकामा प्रस्तुत भैरहेका छन् । रेखाले मालिकालाई तिहारको अवसर पार्दै लक्ष्मीपूजामा रिलिज गर्ने घोषणा गरेकीछन् ।

 

For More videos Log on to Mazzako TV