तारिफ पाएपनि व्यवसायिक रुपमा कमजोर यी फिल्म
कतिपय फिल्मले मिश्रित प्रतिक्रिया पाएपनि व्यापारिक रुपमा भने सफलता पाउँछन् । कतिपय फिल्म भने तारिफ नै तारिफ पाएपनि व्यवसायिक रुपमा सफल हुन सक्दैनन् । नेपाली फिल्मको बक्स अफिसमा अहिले यस्तै आँकडा देखिएको छ ।
फागूण ११ गतेबाट रिलिजमा आएको फिल्म ‘पञ्चेबाँजा’ले खुबै तारिफ पायो । फिल्म हेर्ने पत्रकार सबैले यसलाई उत्कृष्ट भने । तर, फिल्म बक्स अफिसमा त्यस्तो जमेन । सौगात मल्ल, कर्मा, जश्मिन श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेको फिल्म तारिफ पाउन त सफल भयो, तर हलमा दर्शक खासै आएनन् ।

शुक्रबारदेखि रिलिज भएको फिल्म ‘ब्लाइन्ड रक्स’ को हाल पनि यस्तै रह्यो । यो फिल्मले पनि तारिफ पायो । फिल्मको कथावस्तु, अभिनेत्री वेनिशा हमालको अभिनयलाई सबैले तारिफ गरे । तर, बक्स अफिसमा फिल्म चम्केन । फिल्मका निर्माता निकेश लिम्बुले सोचेजस्तो व्यापार फिल्मले नगरेको बताइसकेका छन् ।

फिल्म ‘नाका’ले पनि समिक्षकबाट तारिफ पाइरहेको छ । फिल्मलाई हेर्नेले राम्रो भनेका छन् । तर, निकै कमजोर प्रचारका कारण फिल्म बक्स अफिसमा खरो उत्रन सकेन । फिल्म राम्रो बनाएर मात्र हुँदैन, त्यसको मार्केटिङ पनि राम्रो गर्न जान्नुपर्छ भन्ने उदाहरण यी फिल्मले दिएका छन् ।
For More videos Log on to Mazzako TV








