एघार वर्षे गायक अधिश्री कसपालको गीत ‘छोरी अन्माउँदा’ को भिडियो सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा सरोज खनाल र वर्षा शिवाकोटीले फिचरिङ गरेका छन् । घरकी एक्ली छोरी विवाहमा अन्माउँदा एक पितालाई पर्ने चोटलाई भावुक तरिकाले भिडियोमा प्रस्तुत गरिएको छ । गीतमा सुरेश अधिकारीको संगीत र सुभाषचन्द्र ढुंगेलको शब्द छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा धिरजजंग शाहको छायांकन र प्रकाश तुलाधरको सम्पादन छ ।

गीतका संगीतकार सुरेशले सुभासचन्द्रको गीत हेर्दा फरक धारको पाएको बताउँदै आफूले गहिरो र गम्भीर किसिमको संगीत प्रयोग गरेको बताए । गीतको शब्द र संगीतको भाव अनुसार अधिश्रीले गाउन सक्ला या नसक्ला भन्ने मलाई द्विविधा थियो,’संगीतकार अधिकारीले भने,‘तर उसले एउटा परिपक्क गायकले गाए जसरी गीत गाइदियो ।’ उनले गीत सार्वजनिक गर्दा गायक अधिश्रीका लागि भन्दा पनि आफ्ना लागि जाँच दिएको परीक्षार्थी जस्तै बनेको बताए । अधिकारीले अधिश्रीको जस्तै संगीतमा रुची राख्ने बालबालिकालाई परिवारको सहयोग र सद्भाव आवश्यक रहने जनाए ।

संगीतकार, गायक तथा रचनाकार दीपक जंगमले आफ्नो समयमा बाल्यअवस्थामा गीत गाउनु निकै चुनौतिपूर्ण रहेको स्मरण गरे । ‘हाम्रो पालामा गीत गाउनु भनेको निकै गाह्रो थियो । आफैले संगीतका गुरु खोज्नुपथ्र्यो,’उनले भने,‘तर अहिले समय फेरिएको छ । अहिले परिवारको सहयोगले गायकगायिकालाई संगीतमा आउन सजिलो भएको छ ।’ उनले अधिश्रीका लागि परिवार नै सहयोगी भएकाले पनि आगामी दिनमा उसको संगीत सक्रियता अझ फराकिलो हुने बताए । कार्यक्रममा अधिश्रीले ‘छोरी अन्माउँदा’ र ‘अरुलाई निचो देखाउन खोजेर’ बोलको गीत गाएका थिए । गीत ‘अरुलाई निचो देखाउन’मा हरि लम्सालको संगीत र सुवासचन्द्रको शब्द छ ।

For More videos Log on to Mazzako TV