वर्ष २०७५ को दशैंको फूलपातीमा रिलिज गर्ने तयारीका साथ अशोक शर्माले फिल्म ‘जय भोले’ निर्माणको घोषणा गरेका छन् । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको औपचारिक घोषणा गरिएको हो । यता फूलपातीमै फिल्म ‘छक्का पञ्जा ३’ पनि आउने चर्चा छ ।

यही फागुन १ गतेबाट छायांकन हुने फिल्मको स्क्रिप्ट लेखक तथा अभिनेता खगेन्द्र लामीछानेले करिब १ वर्ष लगाएर लेखेका हुन् । ‘हामीले ३ वटा उत्कृष्ट कथा हेरेर एउटा कथा छानेका हौं’, निर्देशक शर्माले भने, ‘यो मेरो र खगेन्द्रबिचको फ्युजन हो ।’ अभिनेता खगेन्द्र लामिछाने ‘जय भोले’ का मुख्य पात्र समेत हुन् ।

यस्तै निर्देशक शर्माले नायिका साम्रज्ञी राज्य लक्ष्मी शाहसँग फिल्म खेल्ने बारे कुरा भएको तर समय नमिलेकाले कुरा अघि नबढाएको बताए । दुई केटा साथी बिचको भावनात्मक मित्रता र प्रेमको वरिपरि फिल्मको कथा घुमेको छ । फिल्ममा खगेन्द्र सँगै अभिनेता सौगात मल्ल, नायिका स्वस्तिमा खड्का, नायक सलोन बस्नेत, बसुन्धरा भूषाल, राजाराम पौडेल, बुद्धि तामाङ, शारदा गिरी, सुरेन्द्र केसी, किशोर भण्डारी र निर्देशक शर्माको अभिनय रहनेछ । राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत रहने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।

For More videos Log on to Mazzako TV