असार महिनादेखि हरेक महिना एउटा नेपाली फिल्मले बक्स अफिसमा धुम मच्चाइरहेको छ । असार, साउन, भदौ, असोजमा नेपाली फिल्म क्षेत्रले निराशा भोग्नु परेन । यसैले, कात्तिक महिना के होला भन्ने सर्वत्र चासो र चर्चाको बिषय बनेको छ ।

धेरैको नजर कात्तिक २ गते लक्ष्मीपूजाको दिन पारेर रिलिज भएका फिल्ममा थियो । कात्तिक २ गते अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देलको जोडीले काम गरेको फिल्म ‘रुद्रप्रिया’ र अभिनेत्री मलिना जोशीको शिर्ष भूमिका रहेको फिल्म ‘रानी’ रिलिज भएको थियो । तर, ३ दिनको बिदामा पनि यी २ फिल्मले त्यस्तो जर्बजस्त प्रदर्शन गर्न सकेनन् । बक्स अफिसमा यी दुई फिल्म अनुमान गरेअनुसार नचलेपछि अब कात्तिक महिना कसले धान्छ भन्ने कौतुहलता जागेको छ ।

अहिले, कात्तिक ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘ऐश्वर्य’मा सबैको नजर परेको छ । दिवाकर भट्टराई निर्देशित यो फिल्ममा रमेश उप्रेती, प्रशान्त ताम्राकार, केकी अधिकारी, दीपिका प्रसाइ लगायतका कलाकारको मुख्य भूमिका छ ।

फिल्मको गीतसंगीतको उचाइ, दर्शकको प्रतिक्षा, उच्च मेकिङका कारण पनि यो फिल्मले कात्तिकको इज्जत राख्ने धेरैको वुझाई छ । के ‘ऐश्वर्य’मा यसमा खरो उत्रिएला त ?

For More videos Log on to Mazzako TV