स्वं. निलुको सम्झनामा केकीको ममस्पर्शी पत्र
नायिका केकी अधिकारीले स्वं. निलु डोमा शेर्पाको सम्झनामा मर्मस्पर्शी पत्र लेखेकी छिन् । केकीले फेसबुकमा निर्देशक निलुको सम्झनामा लेखेका शब्दहरुले पक्कै पनि सबैको मन छुन्छ नै । केकी र निलु ब्यबसायिक रुपमा नायिका र निर्देशक भएपनि उनीहरु एक अर्काका निकै मिल्ने साथीहरु थिए । निलुले निर्देशन गरेको चलचित्र ‘हाउ फन्नी’मा केकीले मुख्य भुमिकामा अभिनय गरेकी थिईन् ।

केकीले निलुको सम्झनामा लेखेको पत्र यस्तो छ ।
प्रिय निलु,
आज तिमीले हामीलाई छाडेर गएको पनि ४ दिन भैसकेको छ। केकु तिमी कत्ती सजिलै मनमा लागेका कुराहरु कति राम्ररी लेख्न सक्छौ भन्थ्यौ नि तर कहिले काहिँ मनका भावनाहरु,यादहरु सब्दमा उतार्न एकदम सकस हुदो रैछ। यो सायद मेरो पहिलो लेखेको कुरा हुनेछ जुन तिमी पढ्ने छैनौ अनि यो बारे केही भन्ने छैनौ।
I love you keku भनेर तिमीले मलाई अन्तिममा भनेको सब्दहरु बारबार दिमागमा घुमिरहेकोछ। सधै खुशी मात्र दिने मान्छेले यती पीडा पनि दिन सक्छ भनेर मैले कहिले सोचेकै थिइनँ । तिम्रो उपस्थिति मात्रले माहोलमा कति फरक पार्थ्यो , सबलाई हँसाउनु पर्ने तिमी कति राम्रो मान्छे थियौ भन्ने कुरा मैले तिमीलाई कहिल्यै भन्न पाइनँ। समय जत्ती पनि छ्दै छ नि जस्तो लाग्थ्यो तर समय नै त हाम्रो हातमा नहुदो रैछ। यसको अपसोच मलाई सधै हुनेछ।
जन्मेपछी मृत्यु शाश्वत कुरा हो तर यो सत्यलाई सुइकार्न मैले सकेकै छैन र अझै कति समय लाग्ने हो त्यो पनि थाहा छैन। तिमीले हरेक तिमीलाई भेटेका,जानेका अनि तिमीलाई नजिकबाट बुझेकाहरुमा धेरै प्रभाव पारेको छौ निलु अनि यो अभाव हाम्रो जिवनमा कसैले पुरा गर्न सक्दैन। कोही कोहि मान्छे जिन्दगीमा यसरी आँउछ उस्ले नमेटिनेगरि आफ्नो छाप छोडेर जान्छ।
तिम्रो अधुरो सपनाहरु पुरा गर्न त नसकुँला तर तिमीले जानी नजानी सिकाएर गएको पाठलाई जीवन रहेसम्म लागू गर्ने प्रयास गर्छु । तिम्रो जस्तै मायालु मन भगवानले सबैलाई दिए, यो संसार एकदम सुन्दर ठाँउ हुनेथ्यो। मलाई बिस्वास छ तिमी आज जहाँ पनि छौ त्यो ठाँउमा पनि यस्तै प्रभाव पार्नेछौ। तिम्रो आत्माको शान्तिको कामना गर्छु सधैं भगवानसंग।
धेरै धेरै माया निलु!!
उहि तिम्रो प्यारी
केकु

निर्देशक निलुको गत शनिवार हृदयघातका कारण निधन भएको थियो । निलुको असामयिक निधनका बेला नायिका केकी लण्डनमा अवार्ड कार्यक्रममा सहाभागी हुन गएकी थिईन् । केकी लण्डनबाट यतिबेला कार्यक्रममा लागि सिधै अमेरिका पुगेकी छिन् । निलुको अन्तिम बिदाईमा आफु सरिक हुन नपाएकोमा निकै दुख लागेको केकीले बताएकी छिन् ।











