दिपेन्द्रको निर्देशनमा हिंडेर अमेरिका पुग्ने भए खगेन्द्र
‘पशुपति प्रसाद’ र ‘धनपती’ पश्चात निर्देशक दिपेन्द्र के.खनाल र अभिनेता खगेन्द्र लामिछानेले तेश्रो नयाँ फिल्ममा सहकार्य गरेका छन् । निर्देशक खनालले निर्देशन गर्ने नाम तय हुंन बाँकी फिल्ममा खगेन्द्र मुख्य पात्रका रुपमा आवद्ध हुने भएका हुन् । सुरज सिने आर्टस्को प्रस्तुती रहने फिल्ममा सर्मिला पाण्डेको लगानी रहनेछ । लगानीमा निर्देशक खनालले पनि सहकार्य गरेका छन् ।

हिंडेर अमेरिका जाने नेपालीको बाध्यत्मक परिस्थितिलाई मुख्य कथा बनाइएको फिल्मको लगानी मात्रै ५ करोड अनुमान गरिएको छ । ‘अमेरिकासम्म हिंडेर पुग्ने तीन पात्रको भोगाइ र सपनालाई फिल्ममा देखाइनेछ’ फिल्म बारे निर्देशक खनालले भने, ‘समाजलाई सन्देश दिने र देश तथा विदेशमा देखाउन मिल्ने फिल्म बनाउँने छौं ।’ यता अभिनेता खगेन्द्र लामिछानेले अमेरिका हिंडेर जाँनेको दुःख पत्र पत्रिकामा पढेका र देखेको बताउँदै फिल्मको लागि मिहेनत गर्ने बताए । खगेन्द्र बाहेक बाँकी कलाकार तय भैसकेका छैनन् ।

निर्मात्री सर्मिला पाण्डेले ‘लभ लभ लभ’ लाई सहयोग गर्ने सबैलाई धन्यवाद दिदैं नयाँ फिल्म राम्रो बनाउने विश्वास दिलाइन् । छोरा सुरज पाण्डे भने फिल्म सम्बन्धी ज्ञान र तालिम लिएर मात्रै अर्को फिल्ममा खेल्ने उनले बताइन् । मंसिर महिनाबाट छायाँकन सुरु हुने फिल्मलाई नेपाल सहित भारत, थाइल्यान्ड, मेक्सिको, ब्राजिल र अमेरिका गरी एक दर्जन देशमा फिल्म खिचिने निर्देशक खनालले जानकारी दिए ।









