कलाकारहरूको व्यक्तिगत र व्यावसायिक जीवनलाई व्यवस्थापन गर्न पार्टी नेपाल डट कमले टयालेन्ट व्यवस्थापन एजेन्सी खोलेको छ । नायक दयाहाङ राई, निर्देशक र निर्माता एवं नायक निश्चल बस्नेत र पूर्व मिस नेपाल एवं नायिका सृष्टि श्रेष्ठले बिहीबार एजेन्सीको व्यवस्थापन सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

shristi-nischal-dayahang

‘काम गर्दा परिवारका साथै अरू कुरामा ध्यान दिन सकिँदैन, परिवारसँग भएको बेला समेत कामले छोड्दैन,’ दयाहाङले भने, ‘म आनन्दको लाइफ जिउन चाहन्छु । एजेन्सीले हाम्रो सेडयुल व्यवस्थापन गरिदिने भएपछि व्यावसायिकतालाई सहज ढंगले अघि बढाउन मद्दत पुग्नेछ ।’ अन्य पेसामा जस्तै कलाकारितामा पनि व्यावसायिक र व्यक्तिगत जीवन छुट्टयाउन सके आनन्द मिल्ने उनले सुनाए ।  नेपालमा कलाकारहरूले पारिश्रमिकको सम्झौता आफैं गर्नुपर्ने अवस्था सुनाउँदै निश्चलले भने, ‘यसले कलाकारको इज्जत र प्रतिष्ठामा धक्का पर्ने हुन्छ । साथै प्रोडयुसरसँग पनि सम्बन्धमा चिसोपन आउँछ ।’ समयसँगै आर्थिक पक्षहरूको डिलिङ एजेन्सीले गरिदिए फिल्म उद्योग व्यावसायिक बन्ने उनले आशा व्यक्त गरे । चिनजानका आधारमा कसैले फिल्ममा अभिनयको अफर गर्दा नाइँ भन्न नसकेर खेलेको फिल्मले सन्तुष्टि नदिने र फिल्मलाई पनि कुनै फाइदा नपुग्ने समस्याहरू फेस गर्नुपरेको उनले सुनाए । नेपाली फिल्म उद्योगमा यो नयाँ अभ्यास भएकोले एक–दुई महिना अप्ठेरो भए पनि पछि सहज बन्दै जाने उनले दाबी गरे ।

कलाकारहरूको जीवन व्यवस्थापन गर्न एजेन्सीले सहयोगी माध्यमको भूमिका खेल्ने सृष्टिले विश्वास व्यक्त गरिन् । एजेन्सीले कलाकारलाई मार्ग्निर्देश गर्नुका साथै बलियो बनाउने काम गर्ने पार्टी नेपालका व्यवस्थापकीय निर्देशक श्री गुरुङले बताए । ‘व्यवस्थापनका लागि एजेन्सीको कार्यलाई संयोजक, व्यवस्थापक र निर्देशक गरी तीन तहमा विभाजन गरिएको छ,’ उनले भने, ‘फिल्मका कलाकारहरू मात्र नभई संगीतका साथै अन्य क्षेत्रका कलाकारलाई समेत समेट्ने उद्देश्य रहेको छ ।’ कलाकारहरूले मनोरञ्जनसँगै सामाजिक एकताको सम्वद्र्धन गर्ने कानुनी सल्लाहकार टीकाराम भट्टराईले बताए । ‘कलाकारहरू करको दायरामा आउन नसकेको भन्ने आरोप लाग्ने गरेको छ,’ उनले भने, ‘यसले कलाकारहरूलाई करको दायरामा ल्याउन मद्दत गर्नेछ ।’ कार्यक्रममा कलाकारहरूले एजेन्सीको लोगोको पनि उद्घाटन गरेका थिए ।

साभार : कान्तिपुर दैनिक

For More videos Log on to Mazzako TV