निर्माता संघका पदाधिकारीले उद्योगमन्त्री नविन्द्रराज जोशीलाई भेटी नेपाली फिल्म उद्योगलाई सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योगमा राख्न आग्रह गरेका छन् । अध्यक्ष आकाश अधिकारीको नेतृत्वमा गएको निर्माता संघको टोलीले मंगलबार उद्योगमन्त्री जोशीलाई भेटी यस्तो आग्रह गरेको हो । नेपाली फिल्मलाई हालसम्म सरकारले सेवामुलक उद्योग अन्तर्गत राख्दै आएको छ ।

akash-adhikari-mantri

अध्यक्ष आकाश अधिकारीले मन्त्री जोशीलाई नेपाली फिल्मको वर्तमान अवस्थाबारे जानकारी गराउँदै नेपाली फिल्म उद्योगलाई राष्ट्रिय प्राथमिकताको उद्योगमा समावेश गर्न पनि आग्रह गरे । चलचित्र क्षेत्रको समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताउँदै मन्त्री जोशीले सूचना तथा सञ्चार प्राधिकरणले नयाँ ऐन ल्याउन लागेको र नयाँ ऐनले सूचना उद्योग अन्तर्गत गरिने काम प्राइभेट रुपमा गर्न नमिल्ने व्यवस्था गर्न लागेको जानकारी गराउँदै छलफल गरेर मात्र निष्कर्षमा पुग्न आग्रह गरेका थिए ।

निर्माता संघ अध्यक्ष आकाश अधिकारीले सूचना मन्त्रालयसँग बनिरहेको ऐनका सम्बन्धमा छलफल गरेर मात्र फिल्म उद्योगलाई कुन विधामा राख्ने भन्नेबारेमा निर्णय गरिने जानकारी गराए । अधिकारीले भने, ‘पहिलो कुरा त मन्त्री जी हाम्रो मागका सम्बन्धमा सकारात्मक हुनुहुन्छ , यो हाम्रा लागि एकदमै खुशीको कुरा हो । उहाँले नै सञ्चारमन्त्रालयसँग छलफल गरेर आउनुस् भन्नु भएको छ । हामी त्यहाँ बन्न लागेको ऐनको अध्ययन गरेर फेरि मन्त्रीसँग भेट्छौं ।’

मागपत्र पेश गर्नका लागि अध्यक्ष अधिकारीसँगै उपाध्यक्ष गोविन्द शाही, सदस्यहरु निकिता पौडेल, अर्जुन कुमार, भानुप्रताप, रौनकबिक्रम कँडेल उद्योग मन्त्रालय गएका थिए । आकाश अधिकारीले चाँडै नै सञ्चारमन्त्रीलाई पनि भेटेर बक्स अफिस र फिल्म नीतिका सम्बन्धमा पनि दबाब दिने बताएका छन् ।

For More videos Log on to Mazzako TV