२१ वर्षपछि पनि उस्तै सशक्त सरोज खनाल (फोटो फिचर)
अभिनेता सरोज खनाल २१ वर्ष पछि रंगमञ्चमा फर्किएका छन् । अभिनेता खनालको कमब्याक रहेको नाटक ‘१२ दुर्वासा’ यही माघ १३ गतेदेखि अनामनगरमा रहेको मण्डला नाटक घरमा मञ्चन भैरहेको छ । लामो समयपछि रंग मञ्चमा फर्किएका अभिनेता खनालको उक्त नाटकमा प्रस्तुती कस्तो छ ?

‘सशक्त’, आइतबार नाटक हेरेर निस्किएका एक दर्शकले प्रतिक्रिया दिए, ‘पहिलो पटक नाटक हेरेको हुँ । सरोज दाईको अभिनय सशक्त लाग्यो । समग्रमा नाटक उत्कृष्ट बनेको छ ।’ उसो त दर्शकको प्रतिक्रिया र हलमा देखिएको हाउसफूल दर्शक संख्याले सरोज पनि निकै खुसी छन् । उनी भन्छन्, ‘लामो समय पछि फर्किएपनि दर्शकले मन पराइदिनु भएको छ । खुसी लागिरहेको छ ।’ सरोज खनाल रंगमञ्चका सशक्त कलाकार हुन् ।

राजन खतिवडाले निर्देशन गरेको ‘१२ दुर्वासा’ मा १२ जना कलाकारहको अभिनय रहेको छ । सरोज खनाल सहित सरिता गिरी, सृजना सुब्बा, पशुपति राई, सोमनाथ खनाल, अनुपम शर्मा, अभय बराल, बादल भट्ट, लक्ष्मी वर्देवा, विसारत बस्नेत, कुशल पाण्डे, पुष्कर कार्की र आयन खड्काको अभिनय रहेको छ ।

‘१२ दुर्वासा’ यस्तो नाटक हो, जुन नाटक विश्वका विभिन्न मुलुकमा मञ्चन भैसकेको छ भने सोही कथामा फिल्म समेत बनिसकेको छ । दुुवै सफल भएका छन् । र, नेपालमा पनि यो नाटकले सफलता पाइरहेको छ । मण्डला नाटक घरमा चल्ने हरेक दिनको शो हाउसफूल भैरहेका छन् । ‘१२ दुर्वासा’ फागुन १ गतेसम्म मञ्चन हुनेछ । तस्बिरहरु : उद्धव रसाईली










