कस्तो बन्ला निखिलको ‘पिंजडा ब्याक अगेन’ ?
करिब दुई दशक पहिले नायक निखिल उप्रेतीले फिल्म ‘पिंजडा’ बाट डेव्यु गरेका थिए । सात तलाबाट हाम फाल्ने देखि विभिन्न एक्सनका स्टन्टहरुले गर्दा निखिलले उक्त फिल्मबाट चर्चा र सफलता पाए । अब यही डेव्यु तथा सफल फिल्मको सिक्वेल ‘पिंजडा ब्याक अगेन’ बन्ने भएको छ । सिक्वेलमा पनि निखिल नै मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।
आइतबार आयोजना गरिएको प्रेसमिटमा निखिलले भने, ‘पिंजडाको त्यो चर्चा आज पनि छ । त्यसकारण हामीले धेरै गर्नु पर्नेछ । अब दर्शकहले धेरै चीज नौलो पाउनु हुनेछ ।’ ‘पिंजडा ब्याक अगेन’ कस्तो छ त ? निखिलको भनाई छ, ‘यसको स्क्रिप्ट साह्रै राम्रो छ । यसलाई सामाजिक पारिवारिक कथा बोकेको फिल्म भन्न सकिन्छ । निखिल भएपछि फाइट भैहाल्छ ।’ यता ‘रुद्र’ पछि एक्सन स्टार उप्रेतीसँग सँगै पर्दा सेयर गर्न लागेकी नव नायिका साराले राम्रो काम गर्ने बताइन् भने निर्देशक हिमाल केसीले ‘पिंजडा’ का अरु कलाकारलाई कथाले नमागेको बताए ।
‘पिंजडा ब्याक अगेन’ मा निखिल र सारा सहित अभिनेत्री सुस्मिता केसी, सुन्दर श्रेष्ठ, पुकार भट्टराई, भोलाराज सापकोटा लगायतको अभिनय रहेको छ ।श्रीराम बरालको प्रस्तुती रहने फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्र अधिकारी निर्माताको रुपमा रहेका छन् सुशान्त श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
मौनता श्रेष्ठको लेखन रहेको फिल्ममा सौरभ लामाको छायाँकन र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । महेश खड्का, बसन्त सापकोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीले फिल्ममा संगीत दिदैंछन् । फिल्मको सुटिङ यसै सातादेखि चितवनबाट सुरु हुँदैछ । प्रदर्शन दशैंलाई तोकिएको छ । ‘पिंजडा ब्याक अगेन’ टिमसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :