चैत ११ मा निखिलको ‘निर्भय’ : सौगात र दयाहाङसँग हुनेछ प्रतिस्पर्धा
‘किङ्ग’ फिल्म दर्शकमाझ आइरहंदा एक्सन स्टार निखिल उप्रेतीको अर्को फिल्म ‘निर्भय’ को पनि औपचारिक प्रदर्शन मिति तय गरिएको छ । यसअघि माघ २८ गतेलाई तय गरिएको निखिलको यो फिल्म अब भने चैत्र ११ गते रिलिज हुने भएको छ । यो मितिमा सौगात मल्ल र दयाहाङ राई स्टारर फिल्म ‘लप्पन छप्पन’ पनि प्रदर्शन हुनेछ भने रेखा थापा भिलेन भएको फिल्म ‘डायरी’ चाहिं चैत ११ मा प्रदर्शन नहुने भएको छ ।

मधुसुदन भट्टराई निर्देशित फिल्म ‘निर्भय’ को फस्ट लुक्स सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति पनि तय गरिएको हो । पोस्टरमा निखिलको ‘एङ्ग्री’ लुक्स छ । प्रसिद्धी सिने आर्ट्सको व्यानरमा बनेको फिल्मका निर्माता देवीप्रसाद पाण्डे हुन् । फिल्ममा निखिल र नायिका नीता ढुंगानाको मुख्य भूमिका छ । निखिल र नीतासँगै फिल्ममा विकास चापागाईं, प्रज्वल गिरी, सुशिल पोखरेल, विशाल पहारी, प्रदिप ढकाल, प्रकाश न्यौपाने, मेन्दी बाबु, रश्मी भट्ट, कृष्ण शिवाकोटी लगायतको अभिनय छ ।

रामशरण उप्रेतीको छायाँकन रहेको फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । वनिश शाह र भुपेन्द्र अधिकारीले सम्पादन गर्दैछन् भने ‘निर्भय’ को सार्वजनिक पोस्टर डिजाइन सान थापाले तयार गरेका हुन् । यम थापाको लेखन रहेको फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको कम्पनि आर आर फिल्मस् ले वितरण गर्नेछन् ।









