‘किङ्ग’ का कोरियोग्राफर भन्छन्, ‘निखिल दाईको डान्स हेरेर निर्माता उफ्रिए’
पुष २८ गते बिहिबारदेखि प्रदर्शनमा आउने फिल्म ‘किङ्ग’ को नयाँ गीति भिडियो रिलिज भएको छ । बसन्त सापकोटाको संगीत रहेको सार्वजनिक ‘लातको भूत’ बोलको गीति भिडियोमा एक्सन स्टार निखिल उप्रेती मज्जैसँग नाचेका छन् । ‘नाच्न आँउदैन’ भन्ने आरोप खेपिरहने निखिल ‘किङ्ग’ को यो गीतमा चाहिं कसरी यति मज्जाले नाचे त ? कोरियोग्राफर रामजी लामिछानले निखिलको नाचको राज खोलेका छन् ।
‘निखिल दाई भयंकर नाच्ने हिरो होइन्’ कोरियोग्राफर लामिछाने भन्छन्, ‘तर नाच्न नआउने हिरोलाई सुहाउने स्टेप दिएर सजिलो पारिदिनु पर्छ । नाच्नै नसक्ने स्टेप दिएर नराम्रो देखाउनु हुन्न । मैंले पनि निखिल दाईलाई त्यस्तै गर्ने गरेको छु ।’ उसो त निखिलले बनाएको ‘भैरव’ देखि पछिल्ला उनले अभिनय गरेका फिल्महरुमा रामजीले नै कोरियोग्राफी गरिरहेका छन् । यसलाई रामजी एक अर्का प्रतिको विश्वास र प्रेम भन्छन् ।
तीन दिन लगाएर चोभार, भद्रकाली र शंखमुलमा खिचिएको ‘किङ्ग’ को गीतको केही ठाउँमा भि.एफ.एक्स गरिएको छ । खिच्दा ठिकै लागेका दृश्यहरु भि.एफ.एक्स पछि राम्रो देखिएका छन् । गीतको पूरा भिडियो हेर्दा निर्माता जयन श्रेष्ठ खुसीले उफ्रिएको रामजी सुनाउँछन् । भिडियो हेर्नुस् :
निर्माण टोली जस्तै आम दर्शकले भने ‘किङ्ग’ को नयाँ गीति भिडियो मन पराउने कोरियोग्राफर रामजीको विश्वास छ । सविर श्रेष्ठले निर्देशन गरेको फिल्म ‘किङ्ग’ मा निखिल सहित नायिका वेनिशा हमाल र अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको छ ।
For More videos Log on to Mazzako TV