यी हुन् सक्रिय, निस्क्रिय र बन्नेवाला निर्मात्री नायिकाहरु
नेपाली फिल्म निर्माणमा नायिकाहरुको संख्या बढेको छ । आफ्नो नामलाई कायम राख्न र दाम कमाउन नायिकाहरुले फिल्म निर्माणमा हात बढाएका हुन् । यो वर्ष मात्रै नायिका छुल्ठिम गुरुङ ‘डल्ली’, ऋचा शर्मा, शिल्पा पोखरेल, केकी अधिकारी, निशा अधिकारी जस्ता नायिकाहरु निर्मात्री बनेका छन् । अर्को वर्ष निर्मात्री हुने नायिकाको संख्या अझ बढ्नेछ ।

‘नोभेम्वर रेन’ पछि अभिनयमा फर्किएकी छुल्ठिम निर्मात्रीको परिचय थप गरेर एक्सन कटमा फर्किएकी हुन् । छुल्ठिमको निर्माणमा अनिल योञ्जनले निर्देशन गरेको फिल्म ‘डायरी’ को यतिबेला पोस्ट प्रोडक्सन चलिरहेको छ । चैत ११ गतेदखि प्रदर्शनमा आउने फिल्म ‘डायरी’ मा रेखा थापा भिलेन बनेकी छिन् भने नव नायकको रुपमा सन्नी सिंहले अभिनय गरेका छन् । नायिका ऋचा शर्माले बनाएको फिल्मको पनि सुटिङ सकिएर सम्पादनको कार्य भैरहेको छ । अर्पण थापाले निर्देशन गरेको फिल्ममा अर्पण र ऋचाको मुख्य भूमिका रहेको छ । निर्माता छविराज ओझासँग विवाहको तयारीमा रहेकी नायिका शिल्पा पोखरेल ‘छवि बा’ कै ब्यानरबाट बन्ने फिल्म ‘मंगलम’ बाट निर्मात्री बनेकी छिन् । छविराज प्रोडक्सनका लगालग तीन वटा फिल्महरुमा अभिनय गरेपछि शिल्पा चौथो फिल्माबाट निर्मात्री बनेकी हुन् । विवाहपछि नायिका ऋचा सिंह ठकुरीले पनि ‘सुपर गोर्खे’ नामक फिल्म बनाएकी छिन् । तर ऋचाको फिल्मको काम रोकिएको खबर छ ।

यस्तै नायिका केकी अधिकारी फिल्म ‘लभ सासा’ बाट निर्मात्री बनेकी छिन् । यही पुष २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लभ सासा’ मा केकीको नाम कार्यकारी निर्माताको रुपमा रहेको छ । निश्चित प्रतिशतमा केकी निर्माता बनेका हुन् । अर्को सालदेखि केकी फिल्म निर्माण र निर्देशनमा हात बढाउने सोचमा छिन् । नायिका निशा अधिकारी भने यसै बर्षदेखि ‘झ्यानाकुटी’ बाट निर्मात्री अनि निर्देशक (क्रियटिभ) बनेकी छिन् । सौगात मल्ल र वेनिशा हमाललाई लिएर निशाले बनाउने फिल्मको यतिबेला प्रि प्रोडक्सनको कार्य भैरहेको छ । ‘झ्यानाकुटी’ लाई सिमोश सुनुवारले निर्देशन गर्नेछन् । अर्को साल फिल्म निर्माण गर्ने नायिकाहरुमा प्रियंका कार्की, पूजा शर्मा, सुस्मा कार्की लगायत पर्न आउँछन् । फिल्म र देश विदेशका कार्यक्रमहरुमा व्यस्त भैरहने नायिका प्रियंका अर्को सालबाट आफ्नै ब्यानरबाट फिल्म निर्माण र निर्देशन गर्ने योजनामा छिन् । सुदर्शन थापाको निर्माण र निर्देशन रहने ‘म यस्तो गीत गाउँछु’ को तयारीमा रहेकी पूजा शर्मा पनि अर्को सालदेखि सोलो निर्मात्री बन्ने तरखरमा छिन् । हाल सुस्त रहेकी सेक्सी नायिका सुस्मा कार्की पनि अर्को सालदेखि फिल्म निर्माण गरेर अगाडी बढ्ने सोचमा पुगेकी छिन् ।

नयाँ नायिकाहरुलाई निर्मात्री बन्न बाटो खोल्ने नायिकाहरुमा करिश्मा मानन्धर, रेखा थापा, झरना थापा पर्न आउँछन् । करिश्मा, रेखा र झरना दशक अगाडीदेखि फिल्म निर्माणमा सक्रिय छन् । लामो समयपछि करिश्माले निर्माण गरेको फिल्म ‘फागु’ गत वर्ष प्रदर्शनमा आएको थियो भने झरनाले निर्देशन सहित ‘ए मेरो हजुर २’ को निर्माण गरेकी छिन् । रेखा भने आउँदो दशैंमा प्रदर्शन गर्ने गरी फिल्म निर्माणको तयारी छिन् । यस्तै लामो समयपछि नायिका उमा बेवीले पनि छोरीलाई हिरोइन बनाएर फिल्म ‘खै कतै’ निर्माण गरेकी छिन् । सविर श्रेष्ठले निर्देशन गरेको फिल्मको छायाँकन सिक्किममा गरिएको छ । एक समय फिल्म निर्माण गरेका मौसमी मल्ल, जेनी कुँवर जस्ता नायिकाहरु अहिले फिल्म निर्माणमा सक्रिय छैनन् । ‘ब्रेक फेल’ र ‘तुलसी’ बनाएकी नायिका ऋचा घिमिरे परिवार सहित अमेरिकामा छिन् ।

नायिका नम्रता श्रेष्ठले ‘सोल सिस्टर्स’ पछि फिल्म बनाउने आँट गरेकी छैनन् भने ‘कोहिनूर’ पछि श्वेता खड्काले नयाँ फिल्म बनाउने घोषणा गरेकी छिन् । आकाश अधिकारीले निर्देशन गर्ने फिल्ममा श्वेता र अभिनेता दयाहाङ राई मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् ।
For More videos Log on to Mazzako TV







