‘विष्णुभत्त फुँयालको ईच्छा मरण’ : निर्देशक कोईराला (श्रद्धाञ्जलीका तस्बिरहरु)

स्व.कलाकार विष्णुभत्त फुँयालप्रति कलाकर्मी तथा राजनीतिज्ञले श्रद्धा सुमन व्यक्त गरेका छन् । सूचना तथा सञ्चारमन्त्री राम कार्की, नागरिक उड्डयान तथा संस्कृतिमन्त्री जीवनबहादुर शाही, पुर्व प्रधानमन्त्री झलनाथ खनाल, केपी ओली, काँग्रेस नेता रामचन्द्र पौडेल, एमाले नेता प्रदीप ज्ञावली लगायतले कमलादीको प्रज्ञा प्रतिष्ठानमा राखिएको कलाकार फुँयालको पार्थिव शरीरमा माला तथा खादा ओढाएर श्रद्धा सुमन व्यक्त गरे ।

मंगलबार जमलस्थित राष्ट्रिय नाच घरमा नाटक ‘महर्षी याज्ञ बैल्क्य’ मञ्चन गर्दै गर्दा हृदय घातका कारण निधन भएका कलाकार फुँयालको शवलाई बिहिबार प्रज्ञामा ११ बजे देखि श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिन अग्रज तथा नयाँ कलाकार्मी त्यहाँ उपस्थित भएका थिए ।

हरिवंश आचार्य, सरोज खनाल, दिपकराज गिरी, दिपाश्री निरौला, सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’ सहित दर्जन बढी कलाकर्मी फुँयालको श्रद्धाञ्जली सभामा सहभागी थिए ।

७९ वर्षिय कलाकार फुँयाल पाँच दशक बढी समयदेखि रंगमञ्चमा सक्रिय थिए । ‘अबिरल बग्दछ ईन्द्रावती’, ‘रगत’, ‘तीतो सत्य’ जस्ता टेलिफिल्ममा अभिनय गरेका स्व.विष्णुभत्तले फिचर फिल्ममा पनि अभिनय गरेका छन् ।

स्व.कलाकार फुँयाललाई श्रद्धा सुमन व्यक्त गर्न आएका फिल्म निर्देशक तीर्थ कोईरालाले ईच्छा अनुसार नै उनको निधन भएको बताए । केही दिन अगाडीको भेटघाटमा स्व.कलाकार फुँयालले भनेका कुरा सम्झदैं निर्देशक कोईरालाले भने, ‘नाटक गर्दा गर्दै मर्न पाउँ भन्नुहुन्थ्यो । भयो पनि त्यस्तै ।’ कलाकार फुँयालप्रति रुद्धा सुमन ! तस्बिरहरु : उद्धव रसाईली









