‘झ्यानाकुटी’ बनाउने निशालाई ३ प्रश्न, किन आफैं खेल्नु भएन ?
नायिका निशा अधिकारी मल्लले फिल्म निर्माणमा हात हालेकी छिन् । निशाको कार्यकारी निर्माण रहने फिल्म ‘झ्यानाकुटी’ को यतिबेला प्रि प्रोडक्सनको कार्य चल्दैछ । सिमोश सुनुवारको निर्देशन रहने कमेडी जनराको फिल्ममा सौगात मल्ल र वेनिशा हमाल मुख्य भूमिकाका लागि पक्का भएका छन् । फिल्ममा निशा भने निमात्रीसँगै क्रियटीभ डिरेक्टरको रुपमा पनि रहनेछिन्, उनको अभिनय रहने छैन् ।
प्रदीप भारद्वाजको स्क्रिप्ट रहेको ‘झ्यानाकुटी’ लाई हरी हुँमागाईंले खिच्नेछन् । माघको तेश्रो सातादेखि घले गाउँबाट फिल्मको छायाँकन सुरु हुनेछ । ‘झ्यानाकुटी’ निर्देशन, निर्माण र अभिनय बारे हामीले निशालाई तीन प्रश्न राखेका छौं :
१.तपाईं आफैंले किन ‘झ्यानाकुटी’ निर्देशन गर्नु भएन ?
मलाई अहिले फिल्म निर्देशन भन्दा पनि फिल्म निर्माणको व्यवस्थापकिय पक्ष सिक्न मन छ । भान्छादेखि हलसम्मको अवस्था बुझ्न मन छ । तरपनि मैंले ‘झ्यानाकुटी’ मा क्रियटिभ निर्देशकको रुपमा काम गर्नेछु । सेट छाड्दिंन । सबै कुरामा परिपक्व भएपछि मात्रै फिल्म निर्देशन गर्छु ।
३.आफ्नो फिल्ममा अरुलाई रोज्नु भयो, आफैं किन खेल्नु भएन ?
कलाकार र प्राविधिक छान्ने काम सिमोश दाई (निर्देशक सिमोश सुनुवार) ले गर्नु भएको हो । यसमा मैंले सुझाव पनि दिएको छैन र हस्तक्षेप पनि गरेको छैन । हामी सँगै काम गर्ने भन्ने कुरा हुँदा नै म नखेल्ने भन्ने पक्का भएको थियो । अर्को कुरा, म पहिला देखि नै एक्टर भन्दा पनि फिल्म मेकर हुंन चाहन्थें । हाम्रो समाजको कथा भन्न चाहन्थें । यद्पी आफुलाई सुहाउने क्यारेक्टर स्क्रिप्टमा निस्कियो भने भोलिका दिनमा पक्कै पनि अभिनय गर्नेछु ।
३.तपाईं पैसा कमाउने फिल्म बनाउनु हुन्छ कि मन छुने ?
क्रिटिकल फिल्म हेर्ने बानी परेका दर्शकले कर्मसियल फिल्म नहेर्न सक्छन् । यसकारण हामीले पूर्ण रुपमा दर्शकलाई मन पर्ने फिल्म बनाउन लागेका छौं । दर्शकलाई मन पर्ने फिल्म बनाएपछि पैसा भनेको कमाई हालिन्छ ।