कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले तेश्रो एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् । मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन सम्पूर्ण सहयोगी मनसँग अपील समेत गरेका छन् । भूकम्प प्रभावितका लागि दुईवटा एकिकृत नमूना बस्ती निर्माण सम्पन्न गरीसकेको धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास २, महोत्तरीमा एकिकृत नमुना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेको हो ।

dhurmus-suntali

गएको वर्ष सरसफाईका क्रममा धुर्मुस सुन्तलीले उक्त बस्तीमा पुगेका थिए । चरम गरिबीको चपेटामा रहेका मुसहर दाउरा बेचेर जिविकोपार्जन गर्दै आएका तराइको पिछडिएको जातिमा पर्छन् । शितलहरबाट पिल्सीएका मुसहरको दर्दनाक अवस्था देखेका उनीहरुले गएको वर्ष धुर्मुस सुन्तलीले न्यानो वितरण समेत गरेका थिए । भूकम्प पिडितलाई पहिलो प्राथमिकतामा राख्दै एकिकृत बस्ती निर्माण गरेका उनीहरुले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन् । गाँस, बास र कपासको समेत समस्या रहेको मुसहर बस्तीमा आफूहरु पुगेपछि अहिले निकै परिर्वतन देखा परिसकेकाले ५० परिवार मुसहरलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् । उनी भन्छन्, ‘स्वास्थ्य, शिक्षा, सरसफाईमा निकै पछि रहेको मुसहर बस्तीलाई बालमैत्री, शिक्षित र सरसफाईयुक्त बनाउन सक्नु ठूलो परिर्वतन हो, त्यो उपलब्धी हाँसील गर्नका लागि पहिले जस्तै सबैको सहयोगको आवश्यकता छ ।’

mushar-childrens

नजिकै विद्यालय भएपनि विद्यालय नजाने बालबालिका हामीले आग्रह गरेपछि सबैजना विद्यालय जान थालेका छन्, सरसफाईमा ध्यान पुर्याउन थालेका छन्, त्यसैले पनि त्यो बस्तीलाई सुन्दर बनाउने सपना देखेको उनको भनाई छ । ४ करोड ७८ लाख लगानीमा निर्माण हुने बस्तीका लागि फाउण्डेशनले गिरान्चौर एकिकृत नमुना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैँया मुसहर बस्ती निर्माणका लागि खर्च गर्ने फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् । मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको बस्ती निर्माणमा अपुग रकम सहयोग गरिदिन सम्पूर्ण सहयोगी मन समक्ष उनले आग्रह गरेकी छिन् । ‘द्ईवटा बस्ती निर्माण सम्पन्न गरिसकेपछि अझै बढी जिम्मेवारी बढेको महसुस गर्दै चैत अन्ति मसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित नयाँ परियोजनाको घोषणा गरेका हौँ,’ उनले भनिन् । भिडियो हेर्नुस् :

For More videos Log on to Mazzako TV