प्राविधिकलाई वोनस बाँढ्दै ‘छक्का पञ्जा’ ले मनायो एक सय दिन (फोटो फिचर)
फिल्म ‘छक्का पञ्जा’ टिमले प्रदर्शनको गौरवमय एक सय दिन पार गरेको खुसीयाली मनाएको छ । ललितपुरमा रहेको भैंसीपाटीस्थित श्रीकाली चौरमा फिल्म निर्माण समुहले एक सय दिनको खुसीयाली ‘सेलिव्रेसन’ गरेको हो ।
मल्टिप्लेक्स सिनेमा हलहरुमा पहिलो पटक प्रदर्शनको एक सय दिन पार गर्न सफल फिल्म ‘छक्का पञ्जा’ को सेलिव्रेसन कार्यक्रममा कलाकार, प्राविधिक, हलवाला, वितरक र सञ्चारकर्मीलाई सम्मान गरियो भने फिल्ममा आवद्ध प्राविधिकहरुलाई बोनस रकम पनि बाँडियो । महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ट्रफी तथा सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा निर्देशक दिपाश्री निरौला, लेखक, निर्माता तथा अभिनेता दिपकराज गिरी, निर्माता तथा कलाकार जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’, निर्माता सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, सुमन भान्जा, कलाकारहरु बसुन्धरा भूषाल, किरण केसी, नायक आर्यन सिग्देल, नायिका बर्षा राउत, छायाँकार पुरुषोत्तम प्रधान, संगीतकारद्वाय राजनराज सिवाकोटी, दीपक शर्मा, कोरियोग्राफर कविराज गहतराज लगायत उपस्थित थिए । नायिका प्रियंका कार्की, नम्रता सापकोटा र कलाकार शिवहरी पौडेल भने विदेशमा रहेका कारण कार्यक्रममा सहभागी हुन पाएनन् ।
गत भदौ २४ गते प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा’ ले गएको साता प्रदर्शनको एक सय दिन पार गरेको हो । राजधानीका गुण, गोपि, अष्ट र बिग मुभिजमा ‘छक्का पञ्जा’ ले एक सय दिन पुरा गरेको छ । हालसम्म यो फिल्मले १६ करोडको व्यापार गरिसकेको छ ।