दिपकको सम्झनामा स्व.भट्टराई, ‘दुःख सेयर गर्दैन्थ्यो’
कलाकार आरपी भट्टराईको निधनले सिङ्गो हाँस्य व्याङ्ग्य क्षेत्र शोकमा डुबेको छ । स्व.भट्टराईको चिर आत्माको शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति धैर्य धारणको कामना गरेर दर्जनौं कलाकर्मीले सामाजिक सञ्जालमा दुःख व्यक्त गरिरहेका छन् । यस्तै मध्येका एक हुन्, कलाकार दिपकराज गिरी । दिपक स्व.भट्टराईका सबैभन्दा नजिकका कलाकार पनि हुन् । आरपीको असमायिक निधनले शोकमा परेका दिपकसँग हामीले उनीसँग हुँदाका केही सम्झनालाई यहाँ प्रस्तुत गरेका छौं ।

उसँग देख भेट त भैरहेको हुन्थ्यो । तर एक दिन अनामनगरमा भेट्दा उसले ‘दाई तीता सत्य’ मा खेलौं न’ भनेर कुरा गर्यो । जतिबेला उस्को ‘या या थुइक्क’ भन्ने गीत आएको थियो । मैंले ‘रोल आए बोलाउँछु भाई’ भनें । पछि ‘तीतो सत्य’ का लागि एउटा रोल निस्कियो, उसलाई बोलाएँ र उसले ‘तीतो सत्य’ मा खेल्यो । हाम्रो टिममा सबैभन्दा बढी नजिक ऊ मसँग थियो । उसले हाम्रो टिमसँग सबै खाले काम गर्न थाल्यो । हाम्रो पहिलो फिल्म ‘६ एकान ६’ र ‘वडा नं ६’ मा प्रोडक्सन म्यानेजर भएर काम गर्यो । तेश्रो फिल्म ‘छक्का पञ्जा’ मा चाहि कलाकारको रुपमा मात्रै काम गर्यो ।
उसको एउटा नराम्रो बानी के थियो भने, ‘उ सुख सेयर गथ्र्यो, दुःख सेयर गर्दैन्थ्यो ।’ यही कुरामा म उस्लाई बेला बेलामा गाली पनि गर्थें । कतिपय उसका दुःख म आफैं बुझ्थे । सुगर र प्रेसर थियो, खानपिन बार्न भनेर भन्थें । ऊ ‘बारिरहेको छु दाई’ भन्थ्यो । विराटनगर घर जानु अगाडी ऊ मेरो घरमा रातको दश बजे आएको थियो । साढे बाह्र बजेसम्म गफ गरेर ‘एक साताको लागि विराटनगर घर जान्छु’ भन्दै बाहिरियो । विराटनगरबाट पनि फोन गरेको थियो ।
शुक्रबार बिहान म वेडमै थिएँ । प्रभाकर दाई (कलाकार प्रभाकर शर्मा) ले फोन गरेर त्यस्तै कुरा गर्नु भयो । सुन्दा पत्यार नै लागेन । पछि बसन्त भट्ट दाईले फोन गरेर ‘कन्फर्म’ गर्नु भयो । लाग्यो, ‘संसार यस्तै रैछ, केही दिगो छैन । अहिले आङमा घाम लागि रहेको छैन ।’ मर्ने त मर्यो तर बाँचिरहेका उस्का दुई छोरा र श्रीमतीको हालत के भैरहेको होला भनेर कल्पना गर्न पनि सकेको छैन । उस्को आत्माले शान्ति पाओस् । शोकमा डुबेको परिवारलाई भगवानले शक्ति दिउन् । यही कामना गर्दछु ।
For More videos Log on to Mazzako TV







