‘छक्का पञ्जा’ सफल भएपछि यी क्षेत्रमा सेवा गर्दैछन् दिपक र दिपा
फिल्म ‘छक्का पञ्जा’ ले प्रदर्शनको ७५ दिन पार गरेको खुसीयालीमा दिपक र दिपाले केही फिल्मले कमाएको नाफाको केही रकम सामाजिक सेवामा लगाउने घोषणा गरेका थिए । सोही घोषणा अनुरुप दिपक र दिपा सहित फिल्मका अन्य निर्माताले राजधानी नजिकैको जीतपुर फेदीमा रहेको मातृ नेपाल अपाङ्ग अन्र्तगत सञ्चालित बाल गृहका ३६ जना बालबालिकाहरुलाई जाडोको कपडा वितरण गर्दै बुधबार भोजन समेत गराएका छन् ।
दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल, सुमन भाञ्जा, निशान बजागाईं लगायतको टोलीले उत्त बाल गृहका बालबालिकाहरुलाई जाडोको न्यानो कपडा वितरण गरेका थिए । ‘छक्का पञ्जा’ सुटिङ गरेको काभ्रेपलाञ्चोक जिल्लाको पनौतीस्थित सल्मीटार गाविसमा एउटा एम्बुलेन्स दिने निर्णय गरेका उनीहरुले अन्य सामाजिक तथा धार्मिक क्षेत्रमा पनि सेवा गर्ने घोषणा गरे । अशक्त कलाकार वुद्धिकृष्ण लामिछानेलाई पचास हजार र वृद्ध कलाकार भीम बहादुर थापा, जयनन्द चन्द, दुर्घटनामा परी अशक्त भएका कलाकार पवन मैनालीलाई बीस बीस हजार दिने बताएका दिपकले मनकामना अनि धरानमा रहेको बुढासुब्बा मन्दिरको जिर्णोद्वारका लागि पच्चीस पच्चीस हजार दिने घोषणा गरे ।
यस्तै ६ जना भूकम्प पिडित बालबालिकाहरुलाई पढाउने जिम्मा लिने पनि दिपकले बताए । ‘छक्का पञ्जा’ का कलाकार, लेखक तथा निर्माता दिपकले सामाजिक सेवा बारे भने, ‘ठुलो पार्टी आयोजना गरेर पैसा खेर फाल्नु भन्दा त्यसको खर्च सहि काममा लागोस् भनेर हामीले यस्तो गर्ने निर्णय गरेका हौं ।’
यस्तै निर्देशक दिपाश्री निरौला र कलाकार जितु नेपालले फिल्मले कमाएको नाफालाई सामाजिक सेवामा लगाउन पाउँदा खुसी लागेको बताए । ‘छक्का पञ्जा’ को सम्पूर्ण टिमलाई बधाई दिदैं दिपाले फिल्म हेरेर सुपरहिट बनाउने दर्शकप्रति कृतज्ञता व्यक्त गरिन् ।
For More videos Log on to Mazzako TV