धुर्मुस सुन्तलीको उद्घोष ‘अब बालमैत्री देश निर्माणमा लाग्छौं’
समाजसेवी तथा हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले देशलाई बालमैत्री बनाउने उद्घोष गरेका छन् । रामेछापको सदरमुकाम मन्थलीमा बालमैत्री स्थानीय शासन सम्बन्धी फिल्म ‘ज्योति’ प्रर्दशन समारोहमा बोल्दै उनीहरुले देशलाई बालमैत्री बनाउने घोषणा गरेका हुन् । बालमैत्री देश बनेमा मात्र समृद्ध नेपाल सम्भव रहेको भन्दै उनीहरुले त्यसका लागि नयाँ अभियानको सुरवात गरेको बताएका छन् ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका लागि युनिसेफ नेपालको सहयोगमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको फिल्म ‘ज्योति’ प्रर्दशन गर्दै उनीहरुले बालमैत्री देश बन्नका लागि जनचेतना आवश्यकता महसुस गरेर नयाँ अभियान सुरु गरेको बताएका छन् ।
पुनर्निर्माणमा जुटेका धुर्मुस र सुन्तलीले त्यसका साथमा भविष्यका कर्णधार बालबालिकालाई हरेक क्षेत्रमा समान सहभागिता गराउन सके नेपालको भविष्य उज्जवल हुने उनीहरुको भनाई छ । करिब १५ सय जनाको उपस्थितिमा भएको उक्त कार्यक्रमपछि अधिकांशले हस्ताक्षर गरेर आफ्नो क्षेत्रलाई बालमैत्री बनाउने प्रतिबद्धता जनाएका छन् ।
रामेछाप जिल्लालाई बालमैत्री जिल्ला घोषणाका लागि सुरु गरिएका कामलाई अब झन् तिव्रताका साथ अघि बढाउने उनले प्रतिबद्धता समेत जनाएका छन् । यस्तै, रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले सहज ढंगमा सबैले बुझ्ने गरी निर्माण भएको फिल्मले मानिसको सोचाई परिर्वतन गर्न सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । एकैपटकमा समाजका अधिकांश नागरिकलाई सुसुचित गराएर बालमैत्री समाज निर्माणमा फिल्म निकै सहयोगी हुने उनको भनाई छ ।
सदरमुकामसँगै गा.वि.स स्तरमा समेत बालमैत्री फिल्म ज्योति प्रदर्शन गरिने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । रामेछापसँगै दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, रसुवा, गोरखा, सिन्धुली लगायत अन्य १६ जिल्लाका ३२ ठाउँमा फिल्म प्रर्दशन गर्ने फाउण्डेशनको योजना छ ।
For More videos Log on to Mazzako TV