निर्देशक तुलसी घिमिरेले खोले राज : यसरी छानिए ‘दर्पण छायाँ २’ मा मोडल पुष्पल
निर्देशक तुलसी घिमिरेले एक दशक भन्दा बढी पहिलेको ब्लकबस्टर फिल्म ‘दर्पण छायाँ’ को सिक्वेल ल्याएका छन् । निर्देशक घिमिरेले नयाँ कलाकारहरुलाई लिएर ‘दर्पण छायाँ २’ निर्देशन गरेका छन्, जुन फिल्म फागुन २७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
मंगलबार राजधानीमा ‘दर्पण छायाँ २’ को रिलिज मिति घोषणा गर्दै फिल्मको टिजर, गीत र पोस्टर सार्वजनिक गरियो । यो सँगै वरिष्ठ निर्देशकले फिल्मसँग जोडिएका केही रहस्यहरु पनि खोले । दिलिप रायमाझी, उत्तम प्रधान र निरुता सिंहलाई लिएर उतिबेला ‘दर्पण छायाँ’ ब्लकबस्टर बनाएका निर्देशक घिमिरेले ‘दर्पण छायाँ २’ का लागि हिरो भने रमाइलो तवरले छानेका रहेछन् । निर्देशक घिमिरेको भनाई अनुसार मोडल पुष्पल खड्कासँग लगातार ७ दिनको भेटघाट पश्चात् उनी फिल्मको मुख्य हिरोको रुपमा पक्का भएका रहेछन् । ‘कति लामो जान्छ यो भाई भनेर हेरेको थिएँ’ निर्देशक घिमिरेले प्रेसमिटमा भने, ‘सात दिनमा चाहिं साइन गराएँ, भाई धेरै बेर बोलेन ।’ शिव परियारले गाएको ‘पिलायो साथीले’ बोलको भिडियोबाट निर्देशक घिमिरेले पुष्पललाई ‘नोटिस’ गरेका रहेछन् ।
यता झण्डै २ सय बढी म्युजिक भिडियोमा मोडलिङ र फिल्म ‘अझै पनि’ मा सह नायकको भूमिकामा अभिनय गरेका पुष्पल खड्काले ‘दर्पण छायाँ २’ मा अनुबन्धन हुंन पाउँदा आफुलाई भाग्यमानी ठानेको बताए । उनले भने, ‘दर्पण छायाँ जस्तो ब्राण्डबाट डेव्यु हुन पाउनु मेरो लागि ठुलो कुरा हो । त्यही भएरपनि म ७ दिनसम्म धाएको थिएँ ।’साबु गदाल कार्कीको निर्माण रहेको फिल्म ‘दर्पण छायाँ २’ मा पुष्पलसँगै सारा कार्की, फिरोज तिमल्सिना लगायत कलाकारहरुको अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV