आफ्नै लगानीमा भिलेन ‘रुद्र’ बन्दै निखिल : रामजीले गर्नेछन् निर्देशन
गत साल ‘भैरव’ मार्फत दमदार कमब्याक भएका अभिनेता निखिल उप्रेतीले फिल्म ‘रुद्र’ निर्माण गर्ने भएका छन् । यसै सातादेखि जोमसोमबाट छायाँकन सुरु हुने एक्सन लभ स्टोरी फिल्ममा निखिल भिलेनको रुपमा प्रस्तुत हुँदैछन् । आफ्नै लगानी रहने ‘रुद्र’ निर्देशनको जिम्मा भने निखिलले रामजी लामिछानेलाई दिएका छन् । पछिल्लो समय कोरियोग्राफी तथा ब्याग्राउण्ड म्युजिकमा व्यस्त रामजी पनि लामो समयपछि फिल्म निर्देशनमा फर्किएका हुन् ।
निखिलका प्रिय कोरियोग्राफर लागिछानेले ‘रुद्र’ लाई राम्रो बनाउने वचन दिए । यस्तै अभिनेता तथा निर्माता उप्रेतीले राम र रावणको उदाहरण दिदैं भिलेनले पनि आफ्नो ‘साईड’ बाट आफुलाई हिरो सम्झने र फिल्ममा आफ्नो यस्तै प्रकारको भूमिका रहने बताए । निर्देशक लामिछाने स्वयमको कथा रहेको फिल्ममा निखिलसँग नव नायिका साराले रोमान्स गर्दैछिन् भने विश्व शर्मा, रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ र रोशन पोखरेलले ‘रुद्र’ मा अभिनय गर्दैछन् ।
सौरभ लामाको क्यामेरा रहने फिल्म ‘रुद्र’ मा दिनेश सोनाम र निखिलको संगीत रहनेछ भने द्धन्द्ध निर्देशन हिमाल केसीले गर्दैछन् । बनिश शाह फिल्मका सम्पादक हुन् । जोमसोम, नारायणघाट, कोहलपूर र कर्णालीमा छायाँकन हुने फिल्मको रिलिज मिति निखिलले आउँदो सालको साउन महिनालाई तोकेका छन् । ‘साबधान’, ‘निशाना’ र ‘भैरव’ पछि निखिलले ‘रुद्र’ निर्माण गर्न लागेका हुन् । ‘भैरव’ लाई निखिल आफैंले निर्देशन गरेका थिए ।
For More videos Log on to Mazzako TV