कोइरालालाई सरकारले राजकीय सम्मान दिने, अन्त्येष्टि भोलि गरिने
काठमाडौं । सरकारले नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले स्व कोइरालाको सम्मानका लागि तोप, सलामीलगायत अन्य आवश्यक व्यवस्था मिलाउन रक्षा तथा गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।
बैठकले कोइरालाको निधनमा शोक मनाउन यही माघ २७ गते सार्वजनिक बिदा दिने र माघ २६ देखि २८ गतेसम्म तीन दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा, वरिष्ठ राजनीतिज्ञ, पूर्वप्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति एवम् व्यवस्थापिका–संसद्का प्रमुख प्रतिपक्षी दलका नेता कोइरालाकोे दुःखद् निधनबाट नेपाल सरकार स्तब्ध भएको जनाउँदै बैठकले यस दुःखद् घडीमा दिवङ्गत कोइरालाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गर्ने निर्णय गरेको छ ।
बैठकको निर्णयमा भनिएको छ, “नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो समय उहाँले निर्वाह गर्नुभएको भूमिका सदैव स्मरणीय रहनेछ । आजीवन राष्ट्र, जनता, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यताका हिमायती कोइरालाले नेपालको संविधान निर्माणमा पुर्याउनुभएको अतुलनीय योगदान नेपाल र नेपालीले सदैव सम्झिरहने छन् ।”
कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्निप्रसाद खरेलले बैठकका निर्णयबारे जानकारी दिँदै सरकारले दुःखको यस घडीमा शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुक एवम् नेपाली कांँग्रेसप्रति हार्दिक समवेदना व्यक्त गरेको बताए ।
राष्ट्रिय सम्मानसहितको अन्त्येष्टि कार्यको समग्र समन्वय गर्न गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई तोकिएको छ ।
अन्त्येष्टि भोलि गरिने
नेपाली कांग्रेससका दिवंगत सभापति एवं पूर्व प्रधानमन्त्री सु्शील कोइरालाको भोलि बुधबार मात्र अन्त्येष्टि गरिने भएको छ ।
कांग्रेस केन्द्रीय समितिको मंगलबार बसेको आकस्मिक बैठकले कोइरालाको पार्थिव शरीर श्रद्धान्जलीका लागि रंगशालामा राख्ने निर्णय गरेको छ ।
भोलि बुधबार २ बजेसम्म रंगशालामैै राख्ने र शवयात्रापछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने निर्णय भएको छ ।
परिवारले सहमति जनाएमा उनको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिनेछ ।