चिकित्सक जया श्रेष्ठले २० विपन्न छात्रछात्रालाई एसएलसीसम्मको सबै खर्च व्यहोर्ने
रत्ननगर (चितवन) । एक चिकित्सकले चितवनको शक्तिखोर र सिद्धि गाविसका विपन्न परिवारका २० बालबालिकालाई एसएलसीसम्म लाग्ने सबै खर्च व्यहोरेर पठनपाठनमा सहयोग गर्ने भएका छन् ।
चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा मेडिकल अन्कोलोजिस्ट चिकित्सक जया श्रेष्ठ विपन्न परिवारका चेपाङ बालबालिका छानेर सहयोग गर्न लागेका हुन् । उनीहरु अहिले कक्षा २ देखि ५ मा अध्ययन गर्दै आएका छन् ।
ती बालबालिकालाई आवश्यक पोसाक, कापी कलम, झोलालगायत लाग्ने सबै खर्च आफैँले उपलब्ध गराउन थालेकोे, वार्षिक प्रतिविद्यार्थी करिब तीन हजार खर्च लाग्ने अनुमान गरिएको चिकित्सक श्रेष्ठले बताए । उनीहरुलाई पढ्न र लगाउनका लागि कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत उनले जनाए ।
सहयोग पाएका विद्यार्थीमा चितवनको शक्तिखोरका १० र सिद्धिको १० जना रहेका छन् । चिकित्सक श्रेष्ठले आजै मात्र जाडोबाट बच्नका लागि उनीहरुलाई स्वीटरसमेत उपलब्ध गराए । सहयोग पाउन थालेपछि उनीहरु नियमित स्कुल आउन थालेको शक्तिखोरको चतुर्मुखी उच्चमाविले जनाएको छ ।
बालबालिकाको शिक्षा राम्रो भए उनीहरुको जीवनसमेत राम्रो हुने बताउँदै चिकित्सक श्रेष्ठले सबैभन्दा पहिले शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिए । यसअघि उनले आफ्नै पहलमा पहाडी गाउँमा पटकपटक निःशुल्क स्वास्थ्य शिविरसमेत गर्दै आएका थिए ।
For More videos Log on to Mazzako TV







