आरक्षण प्रणालीले काम गरेन : मैनाली
काठमाडौं। लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले सरकारी सेवा प्रवेश गर्दा अपनाइएको आरक्षण प्रणालीले उद्देश्य अनुरुप काम गर्न नसकेको बताएका छन् ।
व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको मंगलवारको बैठकमा अध्यक्ष मैनालीले सामाजिक र आर्थिक रुपमा पिछडिएको वर्गलाई आरक्षणको व्यवस्था गरिए पनि आर्थिक रुपमा पिछडिएको वर्गले अझै आरक्षण पाउन नसकेको बताए । उनले भने, “सामाजिक र आर्थिक रुपमा पिछडिएको वर्गलाई आरक्षण दिने भनिएको छ, त्यो बजेटमा प्रकाशित नभएकै कारण लागू हुन सकेको छैन । ”
उनले एउटै व्यक्तिलाई अधिकृत, उपसचिव, सहसचिव सबैमा आरक्षणको सुविधा दिन नहुने बताउँदै एक व्यक्तिलाई एक पटक मात्रै आरक्षणको व्यवस्था मिलाउनुपर्ने भनाइ राखे ।
उनले नयाँ संविधानले दिएको आयोगलाई दिएको अधिकार अनुरुप आयोगसँग सम्बद्ध नयाँ कानुन तयार पारी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकिएको जानकारी दिए ।
राज्य व्यवस्था समितिको बैठकले विभिन्न सरकारी निकायमा रिक्त रहेका कर्मचारीको दरबन्दीको विवरण तुरुन्त आयोगमा आउने व्यवस्था मिलाउन र सोही अनुरुप पदपूर्ति गर्न निर्देशन दिएको छ ।
आयोगको कामकारबाही व्यवस्थित बनाउन अनुसन्धान र विश्लेषणको शाखा बनाउन बैठकले निर्देशन दिएको समितिका सभापति दिलबहादुर घर्तिले जानकारी दिए।
बैठकमा सांसदहरुले आयोगलाई थप व्यवस्थित, प्रभावकारी, विश्वसनीय बनाउनुपर्ने धारणा राखेका थिए ।
For More videos Log on to Mazzako TV







