संसदमा नाकाबन्दीकाबाट उत्पन्न सङ्कट बारे छलफल
मज्जाको अनलाइन, मंसिर ६ गते, आइतवार, २०७२, काठमाडौं।
व्यवस्थापिका–संसद्अन्तर्गतको सामाजिक न्याय तथा मानव अधिकार समिति र राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीबीच नाकाबन्दीका कारण उत्पन्न मानवीय सङ्कटका सम्बन्धमा छलफल भएको छ ।
भारतीय पक्षबाट भएको अघोषित नाकाबन्दीका कारण देशमा औषधि, पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको अभावबाट सर्वसाधारणको जनजीवन ज्यादै कष्टकर भएकाले समस्याको तत्काल निकास खोज्न आयोगका पदाधिकारीले समितिमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सो अवसरमा सर्वसाधारणको जीवनसँग जोडिएको अत्यावश्यक औषधिलगायत बिरामी बोकेको एम्बुलेन्समा आन्दोलनकारीले आगजनी तथा तोडफोड गर्नु मानव अधिकारको अन्तर्राष्ट्रिय मुल्य र मान्यता विपरीत भएकाले अरुको अधिकार हनन नहुने गरी शान्तिपूर्ण रुपमा आन्दोलनका कार्यक्रम अघि सार्न आन्दोलनरत पक्षलाई आग्रहसमेत गरिएको थियो ।
आयोगका अध्यक्ष अनुपराज शर्माले संविधान जारी गर्नुअघि र जारी भएपछि भएका आन्दोलनका क्रममा मानव अधिकार हननका विषयमा निरन्तर रुपमा अनुगमन तथा अनुसन्धान गरिरहेको बताउँदै आगामी दिनमा समेत यसलाई निरन्तरता दिने बताए ।
नाकाबन्दीका कारण मानव जीवनसँग सम्बन्धित अत्यावश्यक वस्तु र सेवाको कृत्रिम अभाव एवम् मूल्यवृद्धि तथा कालोबजारी मौलाउँदै गएकोतर्फ सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै यसलाई तत्काल रोक्न आवश्यक पहल गर्नुपर्नेमा उनको जोड थियोे ।
नाकाबन्दीबाट उत्पन्न मानवीय सङ्कट सम्बन्धमा आयोगले अन्तर्राष्ट्रिय रुपमै पहल गरिरहेको भन्दै अध्यक्ष शर्माले यथाशीघ्र सार्थक वार्ता गरेर जारी आन्दोलनको अन्त्य गर्न पुनः सरकार र आन्दोलनरत पक्षलाई सम्वेदनशील हुन आग्रह गरे ।
यसैगरी, मोरङ, सुनसरी, पर्सा र सप्तरी जिल्लामा भएको पछिल्लो अमानवीय घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।
For More videos Log on to Mazzako TV







