यो सुरुङभित्र लुकेको छ भयानक रहस्य ‘टनेल २६’ को पोस्टरमै देखियो भयानक आतंक !
काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ आगामी अक्टोबर ९ अर्थात् असोज २३ गते नेपाल र भुटानका हलमा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शनिबार चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
चलचित्रको ट्रेलर भने सेप्टेम्बर २२ मा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने भएको छ। ट्रेलर सार्वजनिक कार्यक्रममा भुटानबाट चलचित्रका कलाकार तथा निर्माण टोलीसमेत सहभागी हुने जनाइएको छ।

संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको चलचित्रमा चौधरी ग्रुपका निर्वाण चौधरी, अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता, भुटानी अभिनेता–निर्माता संगय छेल्ट्रिम तथा दोर्जी वाङ्चुकसहित विभिन्न निर्माताको सहकार्य रहेको छ।
चलचित्रलाई भुटानको शाही सरकारअन्तर्गतको मिडिया, क्रिएटिभ इन्डस्ट्री तथा इन्टेलेक्चुअल प्रोपर्टी विभागले समेत सहयोग गरेको छ।
सार्वजनिक पोस्टरमा अँध्यारो र रहस्यमय सुरुङ देखाइएको छ। सुरुङभित्र केही पात्र देखिन्छन् भने ‘द कर्स बिनिथ द माउन्टेन’ अर्थात् ‘पहाडमुनिको श्राप’लाई चलचित्रको मुख्य विषयका रूपमा प्रस्तुत गरिएको छ। पोस्टरले चलचित्र जम्बी तथा हरर कथामा आधारित रहेको संकेत गर्छ।
चलचित्रको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन्।
चलचित्रमा संगय छेल्ट्रिम, अनुपविक्रम शाही, अन्ना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा छन्।

दोर्जी वाङ्चुक कार्यकारी निर्माता तथा प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा छन्। प्रदीपका लागि ‘टनेल २६’ चौथो निर्माण सहकार्य हो। यसअघि उनले ‘स्केप’, ‘ठुलो मान्छे’ र ‘एक्लो’ निर्माणमा सहकार्य गरेका थिए।
नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको सहभागिता रहेको चलचित्रलाई नेपाल र भुटानमा प्रदर्शन गरेपछि अन्तर्राष्ट्रिय बजारमा समेत लैजाने तयारी छ। निर्माण टिमका अनुसार एसिया तथा उत्तर अमेरिकालगायतका बजारमा अन्तर्राष्ट्रिय वितरण साझेदारमार्फत चलचित्र प्रदर्शन गर्ने योजना छ।
चलचित्रको छायांकन दीर्घ गुरुङ र संगय टी. तेन्जिङले गरेका हुन्। राजु तामाङ एक्सन निर्देशक, कृष्ण शर्मा निर्माण डिजाइनर, पेमा लामो निर्माण व्यवस्थापक तथा ब्लु छेरिङ दोर्जी मेकअप तथा पोसाक विभाग प्रमुखका रूपमा छन्।
चलचित्रको संगीत तथा ध्वनि सम्बन्धी काम थाइल्यान्डमा गरिएको छ। चर्चित संगीतकार तेर्डसाक जानपानले पृष्ठभूमि संगीत तयार पारेका छन्।
करण थामावोङले ध्वनि डिजाइन तथा पुनः रेकर्डिङ मिक्सिङ सम्हालेका छन्। रथाकोर्न थोङनुनले संवाद सम्पादन तथा फोलीको काम गरेका छन् भने चलचित्रको दृश्य प्रभाव निफान स्टुडियोले तयार पारेको छ। चलचित्रको नेपाल व्यवस्थापन लिभेन्टस् स्टुडियो प्रा.ली.ले गरेको हो भने, सन्तोष कुमार कार्कीले चलचित्रको व्यवस्थापन सम्हालेका छन्।
‘टनेल २६’को टिजर यसअघि अगस्ट १४ मा सार्वजनिक गरिएको थियो। निर्माण टिमका अनुसार टिजरले नेपाल र भुटानसँगै युरोप तथा उत्तर अमेरिकामा समेत दर्शक र अन्तर्राष्ट्रिय वितरकको ध्यान खिचेको छ।
For More videos Log on to Mazzako TV







