इतिहासकै ‘लौहपुरुष’ गणेशमान सिंहको यस्तो कथा, मञ्चमा हेर्दा रौँ नै ठाडा हुने !
काठमाडौं – ऐतिहासिक नाटक ‘वीर गणेशमान’ यही भदौ १४ गतेदेखि असोज १४ गतेसम्म काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ। गणेशमान फाउन्डेसनको आयोजना तथा नेपालको अग्रणी र प्रतिष्ठित रङ्गमञ्च समूह सर्वनामको प्रस्तुतिमा नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गणेशमान सिंहको जीवन, सङ्घर्ष, त्याग, साहस र निष्ठामा आधारित यस नाटकलाई वरिष्ठ रङ्गकर्मी अशेष मल्लले परिकल्पना, नाट्य रूपान्तर तथा निर्देशन गरेका छन्।
निर्देशक मल्लका अनुसार ‘वीर गणेशमान’ केवल कुनै ऐतिहासिक व्यक्तित्वको जीवनीमा आधारित नाटक मात्र नभई निष्ठा, इमानदारी, त्याग र देशप्रतिको समर्पणको कथा हो। आफ्नो करिब पाँच दशक लामो नाट्य यात्रामा यस प्रकारको यथार्थपरक नाटक पहिलोपटक गर्न लागेको बताउँदै उनले बिम्ब र प्रतीकसँग खेल्ने आफ्नो नियमित अभ्यासभन्दा यो प्रस्तुति फरक रहेको जानकारी दिए। एउटा निष्ठावान्, इमानदार र सच्चरित्र योद्धाको तेस्रो आयाम दर्शकसम्म सञ्चारित गर्ने प्रयास स्वरूप आफूले यस नाटकलाई निर्देशन गरेको मल्लको भनाइ छ।

नाटकमा निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध गणेशमान सिंहले गरेको सङ्घर्ष, भद्रगोल जेल जीवन तथा ६ फिट अग्लो जेलको पर्खाल नाघेर गरेको साहसिक पलायनलाई विशेष रूपमा प्रस्तुत गरिएको छ। प्रजातन्त्र स्थापनाका लागि मृत्युदण्डसमेत बेवास्ता गर्दै निरन्तर सङ्घर्ष गरेका गणेशमान सिंहको त्याग, साहस र अडिग निष्ठालाई नाटकले रङ्गमञ्चमार्फत जीवन्त बनाउने प्रयास गरेको छ। त्यसैगरी, २०४६ सालको जनआन्दोलनको सफलतापछि प्रधानमन्त्री पदसमेत अस्वीकार गरेको ऐतिहासिक घटनालाई नाटकको महत्त्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको छ। व्यक्तिगत स्वार्थ, परिवार, पार्टी, पद र सत्ताभन्दा माथि देश र जनताको अधिकार तथा स्वतन्त्रतालाई सधैँ प्राथमिकता दिने लौहपुरुष गणेशमान सिंहको राजनीतिक दर्शनलाई यस नाटकले उजागर गर्नेछ।
यस नाटकको प्रस्तुतकर्ता सर्वनाम नेपालकै अग्रणी, प्रतिष्ठित र ऐतिहासिक रङ्गमञ्च समूहका रूपमा विगत ४५ वर्षदेखि नेपाली नाट्य क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको संस्था हो। वि.सं. २०३८ सालमा स्थापना भएको सर्वनामले नेपाली रङ्गमञ्चको विकास, प्रवर्द्धन र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। तत्कालीन पञ्चायती व्यवस्था र निरङ्कुशताविरुद्ध नाट्य कलाका माध्यमबाट आवाज उठाउँदै आएको यस संस्थाले सामाजिक तथा राजनीतिक चेतना अभिवृद्धिमा समेत ऐतिहासिक भूमिका निर्वाह गरेको छ भने नेपालमा संस्थागत रूपमा ‘सडक नाटक’ को सुरुवात गर्ने श्रेय पनि सर्वनामलाई नै जान्छ।

सरकारी वा बाह्य निकायको अनुदानमा निर्भर नभई आफ्नै श्रम, पसिना र समर्पणबाट आफ्नै नाट्यगृह निर्माण गरेको सर्वनाम नेपाली रङ्गमञ्चमा आत्मनिर्भरता र संस्थागत निरन्तरताको उत्कृष्ट उदाहरणका रूपमा स्थापित छ। सर्वनामले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना गर्नुका साथै नयाँ पुस्ताका रङ्गकर्मीलाई प्रवर्द्धन गर्न नियमित नाटक मञ्चन, कार्यशाला तथा नाट्य प्रशिक्षण सञ्चालन गर्दै आएको छ। ‘वीर गणेशमान’ मार्फत सर्वनामले नेपाली इतिहासको महत्त्वपूर्ण अध्यायलाई नयाँ पुस्तासम्म पुर्याउँदै देश, जनता, स्वतन्त्रता र निष्ठाको मूल्यलाई पुनः स्मरण गराउने प्रयास गरेको जनाएको छ।
For More videos Log on to Mazzako TV







