‘युग’को वर्कसप सकियो, भदौ दोस्रो सातादेखि छायांकन
हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘युग’ को वर्कसप सुरु भएको छ। चलचित्रको छायांकन भने वर्कसप सम्पन्न भएपछि भदौको दोस्रो सातादेखि सुरु गरिने निर्देशक कोमलनाथ खतिवडाले जानकारी दिएका छन्। सामाजिक विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण हुन लागेको चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक खतिवडाकै रहेको छ। चलचित्रलाई सुरेश तुमाहाम्फे र टेमनबहादुर आलेले निर्माण गर्दैछन्।

‘युग’मा नेपाली चलचित्र क्षेत्रका अनुभवी तथा नयाँ पुस्ताका कलाकारहरूको आकर्षक संयोजन देखिनेछ। चलचित्रमा सरोज खनाल, दिक्पाल कार्की, गीता अधिकारी, तारा केसी, सुरवीर पण्डित, टिना आले मगर, सानु थापा मगर, ज्योतिका राना, सुमन थापा लगायतका कलाकारको अभिनय रहनेछ।यसै चलचित्रमार्फत चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले नेपाली रजतपटमा अभिनय यात्रा सुरु गर्दैछिन्। त्यस्तै, मोडल तथा मिस्टर हेन्डसम नेपाल २०१९ का विजेता अभिषेक खड्काले पनि ‘युग’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन्।

निर्माण पक्षका अनुसार वर्कसपमा कलाकारहरूलाई पात्र र कथाको परिवेशसँग परिचित गराउँदै अभिनय तथा चरित्र निर्माणको तयारी गराइरहेको छ। कलाकारहरूको तयारीलाई अन्तिम रूप दिएपछि चलचित्रको छायांकनलाई तीव्र गतिमा अघि बढाउने निर्माण टिमको तयारी छ। सामाजिक कथावस्तु, अनुभवी कलाकार र नयाँ प्रतिभाको संयोजनका कारण ‘युग’प्रति सुरुवातमै चासो बढेको छ। चलचित्रले समसामयिक सामाजिक विषयलाई पर्दामा कस्तो ढंगले प्रस्तुत गर्छ भन्ने कुरा भने प्रदर्शनपछि नै प्रस्ट हुनेछ।









