एक दशक पर्दापछाडि, अब आफ्नै कथासहित निर्देशक बन्दै ललित बिष्ट
नेपाली फिल्म क्षेत्रमा एक दशकभन्दा लामो समय सहायक निर्देशकका रूपमा सक्रिय फिल्मकर्मी ललित बिष्ट अब निर्देशकका रूपमा नयाँ यात्रा सुरु गर्ने तयारीमा छन्। सन् २०११ देखि फिल्म क्षेत्रमा सक्रिय बिष्टले दुई दर्जनभन्दा बढी फिचर फिल्ममा सहायक तथा मुख्य सहायक निर्देशकका रूपमा काम गरिसकेका छन्।

बिष्टले ‘हवल्दार सुन्तली’, ‘प्रेम गीत २’, ‘प्रेम गीत ३’, ‘सयकडा दस’, ‘मेरी मामु’, ‘माइतीघर’, ‘पिताम्बर’ र ‘१२ गाउँ’ लगायतका फिल्ममा काम गरेका छन्। ‘प्रेम गीत ३’, ‘पिताम्बर’, ‘माइतीघर’ र ‘१२ गाउँ’मा उनले मुख्य सहायक निर्देशकको जिम्मेवारी सम्हालेका थिए। उनका पछिल्ला परियोजनामा ‘कस्तुरी’ र ‘छ माया छपक्कै २’ रहेका छन्।

लामो समय पर्दापछाडि रहेर काम गर्दा बिष्टले कलाकारसँगको समन्वय, छायांकन व्यवस्थापन, लोकेसन तयारी, कन्टिन्युटी, प्राविधिक टोलीसँगको सहकार्य तथा सेटमा आउने चुनौती समाधान गर्ने प्रत्यक्ष अनुभव हासिल गरेका छन्। यही अनुभवलाई अब उनले निर्देशनमा प्रयोग गर्ने तयारी गरेका छन्।

बिष्टको शैक्षिक पृष्ठभूमि पनि उनको सिर्जनात्मक यात्राका लागि महत्वपूर्ण देखिन्छ। उनले समाजशास्त्रमा स्नातकोत्तर तथा रत्न राज्यलक्ष्मी क्याम्पसबाट आमसञ्चारमा स्नातक तह पूरा गरेका छन्। समाज र मानव व्यवहारको अध्ययनले उनको कथावाचनलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ।
एक दशकभन्दा बढी समय अरूका कथालाई पर्दामा उतार्न सहयोग गरेका बिष्ट अब आफ्नै दृष्टिकोण, पात्र र दृश्य भाषामार्फत कथा भन्न तयार छन्। त्यसैले उनको पहिलो निर्देशनलाई नेपाली फिल्म क्षेत्रले चासोका साथ हेरेको छ।
For More videos Log on to Mazzako TV







