अब सुन्न सकिने भयो चर्चित ‘अहोरात्र’, अडियोबुक सार्वजनिक!
काठमाडौं ।
नेपाली साहित्यका चर्चित स्रष्टा खेमनाथ दाहालको बहुचर्चित कृति ‘अहोरात्र’ (श्रव्यकाव्य) अब अडियोबुकका रूपमा सार्वजनिक भएको छ । गोल्डेन क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त अडियोबुकमा वरिष्ठ वाचक गणेश सुवेदीको सशक्त वाचन रहेको छ । साहित्यप्रेमी तथा श्रव्य सामग्री रुचाउने श्रोताले अब ‘अहोरात्र’लाई सुनेर यसको साहित्यिक तथा दार्शनिक गहिराइको अनुभूति गर्न सक्नेछन् ।

‘अहोरात्र’ केवल एउटा साहित्यिक कृतिमात्र होइन, मानव जीवन, अध्यात्म, संस्कृति र सभ्यताको गहन अध्ययन प्रस्तुत गर्ने श्रव्यकाव्यका रूपमा स्थापित कृति हो । यसमा विशेषगरी अमेरिकी भूमिमा रहेका नेपालीहरूको जीवन–संघर्ष, प्रवासी अनुभव, सांस्कृतिक द्वन्द्व र मातृभूमिप्रतिको भावनात्मक सम्बन्धलाई मार्मिक ढंगले चित्रण गरिएको छ । आधुनिक विश्वव्यापी परिवेशमा नेपाली पहिचान कसरी जोगिन्छ भन्ने प्रश्नलाई कृतिले गम्भीर रूपमा उठाएको छ ।
उपन्यासमा हिन्दु, मुस्लिम, इसाई र बौद्ध धर्मका मूलभूत दर्शन, मानवीय मूल्य तथा आध्यात्मिक चेतनाको तुलनात्मक विश्लेषण गरिएको छ । पूर्वीय दर्शनभित्र निहित ज्ञान, करुणा, सहिष्णुता र मानवतावादी दृष्टिकोणलाई समकालीन विश्व सन्दर्भसँग जोड्दै लेखक दाहालले शान्ति, सहअस्तित्व र विश्वबन्धुत्वको सशक्त सन्देश प्रवाह गर्नुभएको छ यस कृतिमार्फत । धर्मलाई विभाजनको आधारभन्दा पनि मानव सभ्यताको साझा चेतनाका रूपमा प्रस्तुत गर्नु यस कृतिको उल्लेखनीय विशेषता हो ।
अडियोबुक सार्वजनिक भएसँगै नेपालभित्र मात्र होइन, विश्वका विभिन्न मुलुकमा रहेका नेपाली साहित्यप्रेमीहरूका लागि ‘अहोरात्र’ सहज रूपमा पहुँचयोग्य बनेको छ । व्यस्त जीवनशैलीका कारण पुस्तक पढ्न समय अभाव हुने पाठक तथा दृष्टिविहीन साहित्यप्रेमीहरूका लागि पनि यो अडियोबुक महत्त्वपूर्ण उपलब्धि मानिएको छ । गणेश सुवेदीको भावपूर्ण वाचनले कृतिको साहित्यिक सौन्दर्यलाई अझ जीवन्त बनाएको छ ।

नेपाली साहित्यमा राष्ट्रिय भावना, सामाजिक यथार्थ र मानवीय संवेदनालाई सशक्त अभिव्यक्ति दिने स्रष्टामध्ये खेमनाथ दाहाल अग्रणी नामका रूपमा परिचित हुनुहुन्छ । तेह्रथुमको लाब्रीमा जन्मिनुभएका दाहाल हाल काठमाडौंलाई कर्मथलो बनाएर निरन्तर साहित्य सिर्जनामा सक्रिय हुनुहुन्छ । कविता, खण्डकाव्य, महाकाव्य, उपन्यास, नियात्रा, समीक्षा तथा गीत–सिर्जनाका विविध विधामा उहाँले उल्लेखनीय योगदान पुर्याउनुभएको छ ।
दाहालका ‘श्वेतपत्र’ महाकाव्य, ‘रश्मि’ खण्डकाव्य तथा ‘श्रद्धाञ्जलि’, ‘योद्धा’, ‘हावर्डको चौतारीमा’ र ‘म त बन्दी भएको छु’ जस्ता कविता संग्रहले नेपाली साहित्यमा विशिष्ट स्थान बनाएका छन् । त्यस्तै ‘यात्राको सिकर्नी’ नियात्रा र ‘सिर्जनामा दृष्टि’ समीक्षासंग्रह पनि पाठकमाझ उत्तिकै लोकप्रिय छन् । पछिल्लो समय उहाँका ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’ र ‘बित्छ बिहान आमाको’ जस्ता गीतहरूले राष्ट्रिय चेतना, सामाजिक उत्तरदायित्व र मातृत्वप्रतिको संवेदनालाई प्रभावशाली ढंगले अभिव्यक्त गर्दै व्यापक प्रशंसा बटुलेका छन् । यी गीत विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत र सन्तोष र ज्ञानु राणाको स्वरमा रहेका छन् । यस्तै उहाँका केही गीत श्रोता/दर्शकमाझ आउने तयारीमा छन् ।
‘अहोरात्र’को अडियोबुक सार्वजनिक भएसँगै नेपाली श्रव्य साहित्यले नयाँ आयाम प्राप्त गरेको साहित्यिक वृत्तको विश्वास छ । साहित्य, दर्शन र मानवीय चेतनाको संगमका रूपमा रहेको यो श्रव्यकाव्यले नेपाली अडियो साहित्यको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । गोल्डेन क्रियशन युट्युब च्यानलमार्फत उपलब्ध यस अडियोबुकले देश–विदेशमा रहेका नेपाली श्रोतामाझ खेमनाथ दाहालको सिर्जनालाई अझ व्यापक रूपमा पुर्याउने विश्वास गरिएको छ ।








