टंकको ‘मन विनाको धन २’मा पूजा र महेशपछि विपिनको प्रवेश
‘मन विनाको धन २’मा विपिनको इन्ट्री
टंकको ‘मन विनाको धन २’मा पूजा र महेशपछि विपिनको प्रवेश
चाडै नै छायांकनमा जान लागेको फिल्म ‘मन विनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश भएको छ । पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका नायक कार्कीको प्रवेशले फिल्मको लाइनअप निकै बलियो बनाएको छ । यो फिल्ममा विपिनको भूमिका के हुनेछ भन्ने बिषयमा केही पनि खुलाइएको छैन ।
टंक बुढाथोकी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा टंक वुढाथोकीको कथा तथा निर्देशन, शिवम् अधिकारीको लेखन छ ।

फिल्मको हाल धमाधम प्रि प्रोडक्सनको काम चलिरहेको छ । यो फिल्ममा यसअघि नायिका पूजा शर्मा, नायक महेश त्रिपाठी, कलाकारहरु सरोज खनाल र किरण केसी फाइनल भइसकेका छन् ।
पूजा र विपिनले पहिलो पटक फिल्मको पर्दामा एकसाथ काम गर्न लागेका हुन् । यसैले पनि दर्शकका लागि पूजा र विपिनको केमेष्ट्री रोचक हुने पक्का छ ।

फिल्म ‘मन विनाको धन २’लाई सामाजिक कथावस्तुमा निर्माण गर्न लागिएको हो । फिल्ममा विपिनको प्रवेश भएपछि उत्साहित भएका निर्देशक वुढाथोकीले भने–‘हामीले केही सातादेखि विपिनजीसँग कुराकानी गरिरहेका थियौं । उहाँ कथावस्तुलाई लिएर निकै उत्साहित हुनुभयो । दर्शकले उहाँलाई नयाँ अवतारमा यो फिल्ममा देख्न पाउनेछन् ।’गतबर्ष रिलिजमा आएको फिल्म ‘मन विनाको धन’ले बक्स अफिसमा करिब ४ करोडको ग्रस कलेक्शन गरेको थियो । यो फिल्मको सफलताले उत्साहित टंकले यसपटक ‘मन विनाको धन २’लाई अझै बलियो बनाउने बताएका छन् ।








