निर्देशक बिनयराज पौडेलको निर्देशनमा नयाँ नेपाली फिल्म ‘अक्षरा’ निर्माण हुने भएको छ। निर्माण टिमले मंगलबार फिल्मको शीर्षक सार्वजनिक गर्दै थिम पोस्टर पनि सार्वजनिक गरेको हो।

सार्वजनिक पोस्टरमा एक महिला साइड ब्याक झोला बोकेर बिहानीको समयमा कतै हिँड्दै गरेको दृश्य देखिन्छ। पोस्टरले फिल्मको मूड गम्भीर र रहस्यमय रहेको संकेत गर्छ। यस आधारमा फिल्म नारीप्रधान हुन सक्ने अनुमान गरिएको छ।

क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको छायांकन आगामी वैशाख २७ गतेबाट सुरु गरिने निर्माण पक्षले जनाएको छ। यद्यपि, फिल्ममा अभिनय गर्ने कलाकारहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन। निर्माण टिमले कलाकारलाई गोप्य राख्दै दर्शकमाझ कौतूहलता सिर्जना गर्ने रणनीति अपनाएको देखिन्छ।

राजन दुलाल प्रस्तुतकर्ता रहेको यस फिल्ममा उग्रसेन ढुंगाना र सुरज थापा निर्माता रहेका छन्। फिल्मको कथा निर्माता उग्रसेन ढुंगानाले नै लेखेका हुन् भने पटकथा अभिमन्यु निरवीले तयार पारेका छन्।

निर्देशक पौडेलका लागि ‘अक्षरा’ डेब्यु निर्देशन फिल्म हो। यसअघि उनले दर्जनौं नेपाली फिल्ममा मुख्य सहायक निर्देशकका रूपमा काम गरिसकेका छन्। लामो अनुभवका आधारमा उनले आफूलाई निर्देशनका लागि तयार ठानेर यो फिल्ममार्फत निर्देशकको रूपमा यात्रा सुरु गर्न लागेका हुन्।

For More videos Log on to Mazzako TV