प्रमोद अग्रहरिको बंगलादेशी एक्सन फिल्म ‘शार्क’ को टिजर सार्वजनिक
नेपाली अभिनेता प्रमोद अग्रहरिले अभिनय गरेको बंगलादेशी एक्सन फिल्म ‘शार्क’ को टिजर सार्वजनिक गरिएको छ । निर्माताले बिहीबार बेलुका सामाजिक सञ्जालमार्फत फिल्मको टिजर सार्वजनिक गरेका हुन् । एक मिनेट लामो टिजरमा प्रमोद अग्रहरिलाई मुख्य भूमिकामध्ये एकमा प्रस्तुत गरिएको छ । टिजरमा उनलाई समुद्रमा गुण्डाहरूसँग भिडिरहेको दृश्यमा देख्न सकिन्छ । पछाडिबाट खिचिएका केही दृश्यमा प्रमोद एक्सन अवतारमा देखिएका छन् ।

टिजरले प्रमोदको बंगलादेशी फिल्म डेब्यू प्रभावशाली हुने संकेत गरेको छ । टिजर सार्वजनिक भएपछि उनका फ्यानहरूले फिल्म नेपालमा पनि रिलिज गर्न माग गरिरहेका छन् ।बंगाली भाषामा फिल्मको नाम ‘हाङ्गोर’ भए पनि अंग्रेजी नाम ‘शार्क’ राखिएको छ । टिजरमा शार्क माछालाई विम्बको रूपमा प्रयोग गरिएको देखिन्छ ।









